एक खर्ब ५४ अर्बले बढ्यो बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन

२८ मंसिर २०८०, बिहीबार १३:४८

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन २.७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार पहिलो चार महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन २.७ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप एक खर्ब ५४ अर्ब ६१ करोडले बढेको हो । अघिल्लो वर्ष यो अवधिमा यस्तो निक्षेप ४६ अर्ब ७४ करोड अर्थात् शून्य दशमलव ९ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८० कार्तिक मसान्नसम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १४.३ प्रतिशतले बढेको छ ।

यो आर्थिक वर्षको सुरु चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप मध्ये बचत र मुद्दती निक्षेपमा सुधार आएको देखिन्छ भने चल्ती निक्षेपमा ह्रास आएको देखिन्छ । कार्तिक मसान्तसम्म चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.१ प्रतिशत, २७.३ प्रतिशत र ६०.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चल्ती, बचत र मुद्दती निक्षेपमा क्रमशः ७.३ प्रतिशत, २६.० प्रतिशत र ५८.० प्रतिशत रहेको थियो ।

यो चार महिनामा कुल निक्षेपको ३६.० प्रतिशत हिस्सा संस्थागत निक्षेपको छ । गत आर्थिक वर्षको कार्तिक मसान्तसम्म संस्थागत निक्षेपको अंश ३७.१ प्रतिशत थियो । यो पल्ट संस्थागत निक्षेप कमजोर देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*