आईपीओ जारी गर्ने तयारीमा रहेको ‘फोन पे’को अध्यक्षमा सशिन जोशी नियुक्त

२८ मंसिर २०८०, बिहीबार १३:०१

काठमाडौं । आईपीओ जारी गर्ने तयारीमा रहेको ‘फोन पे’को अध्यक्षमा सशिन जोशी नियुक्त भएका छन् । यसअघिका अध्यक्ष विश्वास ढकालले राजीनामा दिएपछि जोशी अध्यक्ष पदमा नियुक्त भएका हुन् । आईपीओलगायत प्राविधिक पक्षमा अनुभवी जोशीलाई फोन पेको अध्यक्ष बनाइएको हो । आईपीओ जारी गर्नका लागि फोन पेले एनएमबि क्यापिटलसँग सम्झौता गरिसकेको छ ।

जोशी फोन पेको माउ एफवानसफ्ट ग्रुपको स्वतन्त्र निर्देशकसमेत हुन् भने स्वतन्त्र निर्देशकको दायित्व पनि जोशीसँगै रहेको छ । जोशी जोखिम व्यवस्थापन, रणनैतिक योजना र अन्तराष्ट्रिय व्यापारमा विशेष दखल राख्ने बैंकरको रुपमा परिचित छन् । जोशी नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष पनि हुन् । उनी एनआइसी एसिया बैंक हुँदै नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत भइसकेका छन् ।

जोशी जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको जावलाखेल डिस्टिलरीको कार्यकारी निर्देशकसमेत भएका थिए । फोन पेको बोर्डमा अध्यक्ष जोशीसहित सिद्धान्त ठकुरी र सम्भव सिरोहिया निर्देशकको रुपमा छन् ।

फोन पे नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको रूपमा इजाजतपत्र डिजिटल भुक्तानी नेटवर्क हो । सन् २०१९ देखि सञ्चालनमा आएको फोन पेले बैंक तथा वालेट प्रदायकका ग्राहकलाई मोबाइल फोनमार्फत भरपर्दो नगदरहित भुक्तानी सेवा दिँदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*