इजरायलमा रोजगारी दिलाउने नाममा ठगी गर्ने गिरोह सक्रिय, युवाहरुलाई सचेत रहन विभागको आग्रह

२८ मंसिर २०८०, बिहीबार ०९:५३

काठमाडौं । द्वन्दग्रस्त मुलुक इजरायलमा रोजगारी दिलाइदिने नाममा ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै वैदेशिक रोजगार विभागले युवाहरुलाई सचेत रहन आग्रह गरेको छ ।

विभागले इजरायलमा कृषि श्रमिकको माग रहेको प्रलोभन देखाएर ठगी भएका गुनासाहरु आएकाले सचेत रहन आम युवावर्गलाई आग्रह गरेको हो ।

नेपाल सरकार र इजरायल सरकारबीच भएको समझदारी अनुसार दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउने काम भइरहेको र त्यो पनि जिटुजी मार्फत मात्रै हुने भएकाले ठगीबाट जोगिन विभागले अपिल गरेको छ ।

इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा इजरायलसँग छलफल भइरहेको भए पनि यस विषयमा कुनै निर्णय भइनसकेको विभागले जनाएको छ । विभागका निर्देशक कविराज उप्रेतीका अनुसार इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाएर विभिन्न व्यक्ति तथा समूहले गैरकानूनी रुपमा प्रलोभनका पारी रकम उठाउने गरेको सूचना आएपछि सचेत गराउनु परेको हो ।

कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’कार्यक्रम तथा अरु क्षेत्रमा रोजगारीको अवसर भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेकाले सचेत रहन उनले सबैलाई आग्रह गरेका छन् । यस सन्दर्भमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको सहयोगमा सूक्ष्म अनुसन्धान भइरहेकाले गिरोहमा संलग्नहरु चाँडै कारबाहीको दायरामा आउने उप्रतीको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*