लोक सेवाले न्याय, परराष्ट्र, प्रशासन, लेखा र मानव अधिकार सेवामा माग्यो कर्मचारी (सूचनासहित)
काठमाडौं । लोकसेवा आयोगले विभिन्न न्याय सेवा, परराष्ट्र, प्रशासन, लेखापरीक्षण, राष्ट्रिय मानव अधिकार तथा न्याय सेपाको संयुक्त लिखित परीक्षाका लागि राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत पदमा २७३ जना कर्मचारी मागेको छ ।
आयोगले बुधबार सूचना प्रकाशित गरी योग्यता पुगेका व्यक्तिहरुले पुस १७ गतेसम्म आवेदन दिन आह्वान गरेको हो । न्याय सेवामै खुलामा ४३ जना, महिला ७ जना, आदिवासी जनजाति ७ जना, मधेसी ६ जना दलित ४ जना र अपाङ्ग १ जना मागेको छ ।
सामान्य प्रशासनमा खुलातर्फ ६४ जना, परराष्ट्रमा ३, लेखामा १७, राजस्वमा १३ लेखापरीक्षणमा ९ जना माग गरेको छ । यो समूहतर्फ महिला जम्मा ३१, आदिवासी जनजाति २४, मधेसी २४, दलित ९, अपाङ्ग ४ र पिछडिएको क्षेत्रबाट ५ जना माग गरिएको छ ।
राष्ट्रिय मानव अधिकार सेवामा खुला तथा समावेशीमा १–१ जना माग गरिएको छ । आवेदन ढिलोमा आगामी पुस २४ गतेसम्म (दोब्बर दस्तुरसहित) बुझाइसक्नु पर्ने भनिएको छ ।