मर्जर तथा एफपीओको कर विवादमा आज सुनुवाई हुँदै, अन्तिम फैसला नआए अनिवार्य रुपमा कर तिनुपर्ने
काठमाडौं । वाणिज्य बैंक तथा बीमा कम्पनीको मर्जर तथा एफपीओको कर विवादमा आज सुनुवाई हुँदै छ। सर्वोच्च अदालतको संवैधानिक इजलाशमा आज यस मुद्दाको सुनुवाई हुन लागेको हो ।
आज प्रधान न्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायधीशहरु आनन्दमोहन भट्टराइ, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मीको संवैधानिक इजलाशमा यस मुद्दाको सुनुवाई हुन लागेको हो ।
मङ्सिर ६ गते अदालतले यस मुद्दालाई पूर्ण सुनुवाइको निम्ति पेस गर्ने आदेश दिएको छ। मङ्सिर ६ गते सुनुवाईपछि अदालतले पूर्ण सुनुवाइको निम्ति पेस गर्ने आदेश दिएको थियो।
त्यस अघि सर्वोच्च अदालतले असोज १७ गते यस मुद्दामा कारण देखाउ आदेश जारी गरेको थियो। असोज १७ गते प्रधान न्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, तथा न्यायधीशहरु ईश्वरप्रसाद खतिवडा,डा. आनन्दमोहन भट्टराई , प्रकाश कुमार ढुंगाना र सुष्मालता माथेमाको इजलाशमा मुद्दाको सुनुवाई भएको थियो। इजलाशले यस मुद्दामा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो ।
सरकारले बजेट मार्फत मर्जर र एफपीओको रकममा मंसिर मसान्तसम्ममा कर तिरेमा त्यसमा लाग्ने शुल्क र ब्याज मिनाहा गर्ने भनेको थियो । मंसिर मसान्तभित्रै अन्तिम फैसला नआए बैंकहरुले अनिवार्य रुपमा कर तिनुपर्ने हुन्छ । सो कारण पनि सर्वाेच्च अदालतको संबैधानिक इजलासले मंसिर मसान्त अघि नै फैसला सुनाउनुपर्ने अवस्था छ । यो मुद्धा आज पहिलो नम्बर क बेञ्चमै परेको छ ।