वीरगन्ज महानगरपालिकामा मेयर र उपमेयरका समर्थकबीच कुटाकुट
वीरगन्ज । वीरगन्ज महानगरपालिकामा मेयर र उपमेयरका समर्थकबीच कार्यालय मै कुटाकुट भएको छ । कार्यकारी अधिकृतको कार्यालय अर्को भवनमा सरेपछि खाली भएको पुरानो कार्यालय रहेको कोठामा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने विषयमा विवाद भएको थियो ।
महानगर परिसरको दक्षिणपट्टिको भवनको नवनिर्मित तेस्रो तल्लामा केही दिन अगाडि मेयर राजेशमान सिंहको कार्यालय सरेको थियो । मेयर सिंहको कार्यालय सरेपछि उनको पुरानो खाली भएको कार्यालयमा कार्यकारी अधिकृतको कार्यालय सारियो । यसअघि कार्यकारी अधिकृतको कार्यालय उपमेयरको कार्यालयसँग टाँसिएको थियो ।
कर्मचारीका अनुसार कार्यकारी अधिकृतको कार्यालय सरेपछि खाली भएको कोठामा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा बनाउने योजना थियो । पञ्जीकरण शाखा साँघुरो कोठामा सञ्चालन भइरहेको छ ।
पञ्जीकरण शाखाका लागि कोठा दिन नमान्दा मेयर र उपमेयरका समर्थकबीच घम्साघम्सी भयो । विवाद बढ्दै गएपछि मेयर र उपमेयरका समर्थकबीच कुटाकुट नै भएको हो । प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले महानगरको अवस्था अहिले सामान्य भइसकेको बताएका छन् ।