अर्थमन्त्रालयले ५ सहसचिवलाई तोक्यो जिम्मेवारी, एक जनाको आन्तरिक सरुवा
काठमाडौं । अर्थ मन्त्रालयले ५ जना सहसचिवलाई जिम्मेवारी तोकेको छ भने एक जनाको आन्तरिक सरुवा गरेको छ । विगत साढे ४ महिनादेखि जिम्मेवारीविहिन रहेका र गत साता मन्त्रालयमा सरुवा भई आएका ३ जना सहसचिवलाई जिम्मेवारी तोकिएको हो ।
अर्थमन्त्रालयले महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक शम्भुप्रसाद मरासिनीलाई आन्तरिक सरुवा गर्दै भन्सार जाँचपास कार्यालयमा पदस्थापन गरेको छ । गएको साउनमा ठूला करदाता कार्यालयबाट अर्थ मन्त्रालय सरुवा भई आएका राजेश्वर ज्ञवालीलाई साढे ४ महिनापछि विभागीय जिम्मेवारी पाएका छन् । ज्ञवालीलाई महालेखा नियन्त्रक कार्यालय लगिएको छ ।
साढे २ महिनाअघि बागमति प्रदेशको अर्थ सचिवबाट अर्थ मन्त्रालयमा सरुवा भएका महेश आचार्यलाई प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ । अर्थको प्रशासन महाशाखा प्रमुख रहेका आनन्द काफ्ले गृह मन्त्रालय सरुवा भएपछि यो महाशाखा रिक्त थियो ।
लगानी बोर्डबाट अर्थ मन्त्रालयमा सरुवा भएका अमृत लम्साललाई मध्यमस्तरीय करदाता कार्यालयको जिम्मेवारी दिइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अर्थ मन्त्रालयमा आएकी पार्वती शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ ।
यस्तै, अर्थ मन्त्री डा. महतको रुची विपरीत राष्ट्रिय योजना आयोगबाट अर्थ मन्त्रालयमा सरुवा भएका महेश बराललाई पूर्वमन्त्री विद्याधर मल्लीकको नेतृत्वमा गठन भएको उच्च स्तरीय कर प्रणाली सुधार समितिमा काम गर्ने गरी जिम्मेवारी दिइएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले ६ जना सहसचिवको जिम्मेवारी हेरफेर गर्दा समेत सार्वजिक ऋण व्यवस्थापन कार्यालयको जिम्मेवारी भने कसैलाई दिइएको छैन ।