एमालेको संकल्प यात्रा टोलीलाई रोक्न खोज्दा गोपाल किरातीसहित दर्जन आन्दोलनकारी पक्राउ
काठमाडौं । प्रमुख प्रतिपक्ष एमालेको संकल्प यात्रालाई कोशी प्रदेश प्रवेश गर्न रोक्न खोज्ने गोपाल किरातीसहित एक दर्जनभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् । नेता किरातीलाई खोटाङको हलेसीबाट प्रहरीले पक्राउ गरेको किरात राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राईले बताए ।
प्रहरीले ठाउँ-ठाउँमा बम कसले राख्यो भन्दै किरातीसहित १२ बढी प्रदर्शनकारीलाई पक्राउ गरेको हो । प्रदर्शनकारी खोटाङ र भोजपुरबाट पक्राउ परेका हुन् । किरातीसहित राजेश राई, विजय रई, गन्जमान राई, उदिन राई, विदूर राई, मिना राई, दिनेश राई, पानामा राईलगायत पक्राउ परेको किरात राई यायोक्खाले जनाएको छ ।
कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले भने किरातीलाई पक्राउ गरेको भन्दा पनि नियन्त्रणमा लिइएको भन्नुपर्ने बताए । कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत पक्षले आह्वान गरेको बन्दकैबीच एमालेको संकल्प यात्राको टोली कोशी प्रदेशतिर पुगेको छ । अध्यक्ष केपी ओलीसहितको टोली उदयपुर पुग्ने कार्यक्रम छ । प्रदर्शनकारीले मध्यपहाडी लोकमार्गको ठाउँ-ठाउँमा रूख ढालेर अवरोध गरेका छन् ।