आज प्रधानमन्त्री प्रचण्डको जन्मदिन, यस्तो छ उनको राजनीतिक जीवन
काठमाडौं । प्रधानमन्त्री प्रचण्डको आज जन्मदिन परेको छ । प्रधानमन्त्री प्रचण्ड ६९ वर्ष पुगेका छन् । उनको न्वारनको नाउँ छविलाल दाहाल भए पनि उनी पुष्प कमल दाहाल ‘प्रचण्ड’को नामबाट तेस्रो पटक मुलुकको कार्यकारी प्रमुख एवं प्रधानमन्त्री भएका छन् । गएको वर्ष पुस १० गते उनले तेस्रो पल्ट प्रधानमन्त्रीको सपथ लिएका थिए । तर, उनी खास ‘प्रचण्ड’को नामबाट बढी परिचित छन् । पुष्पकमल भन्दा पनि सशस्त्र विद्रोहताका अर्थात् भूमिगत हुँदा राखिएको नाम ‘प्रचण्ड’बाट उनलाई सबैले चिन्दछन् ।
गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री समेत रहेका प्रचण्ड २०२८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएयता निरन्तर राजनीतिको अग्र मोर्चामा छन् । चौम, मशाल, एकता केन्द्र, माओवादी हुँदै नेकपासम्म प्रचण्डले राजनीतिक नेतृत्व गरे । अहिले एकिकृत माओवादी केन्द्रको अध्यक्ष तथा प्रधानमन्त्री छन् । दर्शन एवं विचारधाराको निर्माण, कम्युनिष्टहरुबीच एकता, विश्व हल्याउने जनयुद्ध र त्यसको नेतृत्व, शान्ति प्रक्रिया र राजनीतिक सहमतिको यात्रा, गणतन्त्रको स्थापना, सङ्घीयता, समावेशी राज्य चरित्रको निर्माण, जनताकै प्रतिनिधिद्वारा संविधान निर्माण, वाम एकता र राजनीतिक स्थिरताको प्रारम्भ, समाजवादको संकल्प लगायतका दृष्टिले नेपाली राजनीतिमा प्रचण्डको अद्वितीय योगदान छ ।
प्रचण्डको जन्म २०११ साल मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा-२ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरी मै लिएका थिए । २०२६ चितवनको नारायणी विद्या मन्दिर मावि शिवनगरबाट प्रवेशिका परीक्षा एसएलसी उत्तीर्ण भई २०२७/२०२९ पाटन बहुमुखी क्याम्पसबाट आइएस्सी पूरा गरी २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बीएस्सी गरी एमपीएसम्मको अध्ययन गरेका छन् । कक्षा १० मा पढ्दै गर्दा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरेका प्रचण्डको २०३८ देखि २०६३ सालसम्मको समय भूमिगत राजनीतिमा वित्यो । भूमिगत कालमा उनको नाम कल्याण, विश्वास, निर्माण र प्रचण्ड राखियो । अहिले आफुलाई पुष्पकमल भन्दा पनि प्रचण्ड नै भनिदिए गौरव गर्दछन्, उनी ।
२०१९ सालमा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइसराई गरेका प्रचण्डको २०२६ साल वैशाखमा सीता पौडेलसँग विवाह भएको थियो । अहिले धर्मपत्नी सीताको देहान्त भइसकेको छ । उनका तीन छोरी र एक छोरामध्ये जेठी छोरी ज्ञानु र छोरा प्रकाशको पनि निधन भइसकेको छ । नारायणी विद्या मन्दिर मावि शिवनगर-२०२९ साल, डण्डा मावि नवलपरासी र भीमोदय मावि आरुघाट, गोरखा–२०३३–०३५ सालमा अध्यापन गराई २०३२ सालमा युएसएडमा काम गर्न पुगेका थिए ।
२०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनीतिक जीवन प्रारम्भ गरेका प्रचण्डले वादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरेका थिए । उनी २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भए । प्रचण्ड २०३८ सालमा क्षेत्रीय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्ष निर्वाचित भएका थिए ।
२०४१ सालमा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र) को महामन्त्री भए । यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री भएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको सशस्त्र विद्रोहको नेतृत्व गरे । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्षमा निर्वाचित भए । सोही सम्मेलनले विचारधारात्मक उपलब्धिका रुपमा प्रचण्डपथ संश्लेषण गरेको थियो ।
२०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहेका प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौमा भूमिगत जीवनबाट सार्वजनिक भएका थिए । प्रचण्ड २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भए । २०६९ सालमा वृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बने । २०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित भए । २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित भए । साथै उनले उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिकासमेत निर्वाह गरिसकेका छन् ।
अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), संस्कृति, कला र सौन्र्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरु लगायतका पुस्तक प्रकाशित छन् । उनी २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा-२ बाट निर्वाचित भएका थिए । २०७० मंसीरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा प्रचण्ड सिराहा–५ बाट निर्वाचित भएका थिए ।
संविधान सभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र ५ बाट निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७३ । ०४। १९ गते व्यवस्थापिका-संसदमा ३६३ सदस्यको बहुमत प्राप्त गरी नेपाल सरकारको ३९औं प्रधानमन्त्रीमा निर्वाचित भए । २०७४ मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट अध्यक्ष प्रचण्डले ४८२७६ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए ।
२०७४ जेठमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताको घोषणा भयो । नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने संकल्प बोकेका प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यकारी अध्यक्ष रहे ।
२०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट १३ हजार बढी मतान्तरले विजयी भएका प्रचण्ड तेस्रो पटक मुलुकको प्रमुख कार्यकारी अर्थात् प्रधानमन्त्री छन् ।