१० मिनेट कारोबार भएर आजको लागि बन्द भयो नेप्से, शेयर बजारमा आजको दिन ऐतिहासिक
काठमाडौं । पुँजि बजारमा आज उछाल आएको छ । धेरैपछि नेपाली पुँजि बजारमा यस्तो उछाल आएको हो । जम्मा १० मिनेट कारोबार भएर आजको लागि नेप्से बन्द हुन पुगेको छ । केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षामार्फत ब्याजदर घटाउन थप लचिलो भएसँगै नेप्सेमा उछाल आएको हो ।
विहान ११ बजे कारोबार सुरु भएको नेप्सेमा ५ मिनेट कारोबार हुँदा चार प्रतिशतले नेप्से परिसूचक बृद्धि भयो र २० मिनेटका लागि कारोबार स्थगित भयो । २० मिनेट बन्द भएको ११ः२५ मा खुलेको नेप्से ३ मिनेटमै पाँच प्रतिशतको बिन्दु छोएकोले दोस्रो पटक ४० मिनेटका लागि सकारात्मक सर्किट लागेर नेप्से बन्द हुन पुग्यो ।
तेस्रो पटक १२ः०७ मा खुलेको नेप्से दुई मिनेटभित्रैमा ६ प्रतिशतको सीमा छुन पुग्यो र आजकै लागि कारोबार बन्द हुन पुग्यो । नेप्सेको सिष्टम अनुसार छ प्रतिशतले बढेमा वा घटेमा त्यस दिनको लागि कारोबार स्थगित हुने व्यवस्था छ ।
पहिलो पटक पाँच, दोस्रो पटक तीन र र तेस्रो पटक दुई मिनेट मात्रै नेप्सेमा कारोबार भएको छ । जम्मा ८ मिनेट कारोबार हुँदा नेप्से परिसूचक १११.२० अंकले बृद्धि हुन पुगेको छ । समग्र नेप्से परिसूचक १९६३.९८ कायम हुन पुगेको छ । आज १० मिनेटमा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँका कारोबार भएको छ ।
कूल कारोबार समय १० मिनेटमै नेप्से बन्द भएको सम्भवतः आज पहिलो घट्ना हो । त्यसैले पनि नेपाली शेयर बजारमा आजको दिन ऐतिहासिक हुन पुगेको छ ।