नेपाली सेनाबाट रिटायर्ड भएपछि रुसी सेनामा भर्ती हुन पुगेको विष्णुबहादुर दुई सातादेखि सम्पर्कविहीन
काठमाडौं । रूसी सेनामा भर्ना भएका पाल्पाका विष्णुबहादुर पौडेल दुई सातादेखि सम्पर्कविहीन भएका छन् । एक महिनाअघि मात्रै रुसी सेनामा भर्ना भएका विष्णुको परिवारले खोजी गरी स्वदेश फिर्ताको पहल गरिदिन नेपाल सरकारसँग आग्रह गरेको छ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरी रुगका विष्णुबहादुर रूसी सेनामा भर्ना भए लगत्तै युक्रेनी सीमा क्षेत्रमा खटिएका थिए । विष्णुका दाइ ईन्द्र बहादुरका अनुसार विष्णु तीन वर्षअघि नेपाली सेनाबाट अवकाश पाएका थिए । अवकाशपछि घरमै रहेका विष्णुले परिवारलाई जानकारी नदिई गएको असोज २९ गते रूस गएको दाई ईन्द्रले बताएका छन् ।
घरमा बडादसैंको तयारी गरिरहेका बेला रूस गएको भन्दै परिवारसँग सम्पर्क गरेका विष्णुले पछिल्लो दुई सातादेखि भने परिवारसँग कुनै सम्पर्क नगरेको बताइएको छ । रूस गएको केही दिनमै गएको नोभेम्बर ३ तारिखमा रूसी सेनामा भर्ना भएका विष्णुले आफूलाई युक्रेनको सीमा क्षेत्रमा खटाइएको बताएका थिए ।
उनले आफूलाई रूसी राइफल म्यानको जिम्मेवारी दिएर रोस्टभ रिजनको पेरसिअनोस्की गाउँमा खटाएको नियुक्तिपत्र परिवारका सदस्यलाई पठाएका बताइएको छ ।
युद्धग्रस्त मुलुकमा नियमित फोन सम्पर्क गर्न नपाइने भन्दै बेलाबेला फेसबुक म्यासेन्जरमा म्यासेज छोड्ने गरे पनि दुई सातादेखि भने कुनै सम्पर्क नगरेको दाई ईन्द्रले बताएका छन् । आफू बिरामी भएकाले युक्रेनी सीमा क्षेत्रको अस्पतालमा भर्ना भएको भन्दै भाई प्रदीपलाई सन्देश पठाएका विष्णुले त्यसपछि भने कुनै सम्पर्क गरेका छैनन् ।
युक्रेन सीमामा हिउँ परिरहेको र अत्यधिक चिसोका कारण छाती दुख्ने भइ फोक्सोमा समस्या आएपछि अस्पताल भर्ना भए पनि कुन अस्पतालमा भर्ना भएको भन्नेबारे जानकारी नदिएको प्रदीपको भनाइ छ ।