जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको उपस्थिति उपलब्धीमूलकः मन्त्री महतो
काठमाडौं । वन तथा वातावरण मन्त्री बीरेन्द्र महतोले दुबईमा जारी जल वायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप २८ मा नेपालको उपस्थिति उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन् । कोप–२८ मा सहभागी भएर मन्त्री महतो शनिबार स्वदेश फर्किएका छन् ।
मन्त्री महतोले वान डोर सिष्टमबाट नेपालकोतर्फबाट एकीकृत आवाज विश्व समुदाय समक्ष राख्न सकिएको बताएका छन् । यूएईको दुबईमा मंसिर १४ गतेदेखि सुरु भएको उक्त सम्मेलन मंसि २६ गतेसम्म चल्नेछ । यस सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालहरुमा परिरहेको जलवायु सम्बन्धी असर सम्बन्धी विषय उच्च प्राथमिकतामा परेकोले पनि नेपालले यस पटक उपलब्धीमूलक ठानेको छ ।
दुबईमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको आफ्नै पेभिलियन भएकाले जलवायु परिवर्तनका बारेमा प्रभावकारीरूपमा छलफल तथा अन्तक्रिया गरिएको मन्त्री महतोले जानकारी दिए ।
यस पटक कोप २८ मा नेपालले सक्रियतापूर्वक सहभागिता जनाएको थियो । मन्त्री महतोले डिसेम्बर ३ मा एसियाली विकास बैंकद्वारा आयोजित मन्त्रिस्तरीय कार्यक्रमलाई सम्बोधन गरेका थिए भने डिसेम्बर ३ मा नै एशियाली विकास बैंकद्वारा ‘लञ्चिङ मेलम्ची डिजास्टर ड्यामेज एसेसमेन्ट रिपोर्ट’ कार्यक्रमलाई पनि मन्त्री महतोले सम्बोधन गरेका थिए ।
यस्तै डिसेम्बर ५ मा भने मन्त्री महतोले ‘नेपाल्स मिटिगेशन इफोट्र्स ः रोड टु नेट जिरो’ कार्यक्रममा र ‘स्केलिङ अप इन्भेष्टमेन्ट इन एडप्टेशन द्याट लिभ्स नो वन बिहाइण्ड’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि सम्बोधन गरेका थिए । त्यस्तै, डिसेम्बर ६ मा उनले ‘बिल्डिङ ब्लक्स अफ क्लाइमेट एम्बिसनः पिपुल, नेचर, एण्ड एक्सन कार्यक्रम र लोकल्ली लेड एड्यप्टेशन प्राक्टिस इन नेपाल’ कार्यक्रममा सम्बोधन गरेका थिए । कोप–२८ नेपाल पेभेलियनमा डिसेम्बर ३ देखि ८ तारिखसम्म २५ वटा विभिन्न साइड इभेन्ट्स सञ्चालन भएका थिए ।