महोत्तरीको सम्सीमा बीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२२ मंसिर २०८०, शुक्रबार ०९:३७

काठमाडौं । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा बीमासम्बन्धी अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण मधेश प्रदेशको आयोजनामा स्थानीय सरकारसंग नेपाल बीमा प्राधिकरण विषयक उक्त कार्यक्रम मंसिर २१ गते सम्पन्न भएको हो।

गाउँ कार्यपालिकाको सभा हलमा सम्पन्न सो कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले गरेकी हुन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्सी गाउँपालिकाका अध्यक्ष रामनाथ यादव, अतिथिको रुपमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशचन्द्र मिश्र र विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक अनिश तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा विभिन्न वडा वडाध्यक्ष, कार्यपालिकाका सदस्य, पालिकाका कर्मचारी, अगुवा कृषक, नागरिक समाजका प्रतिनिधिलगायत बीमकका शाखा कार्यालयका प्रतिनिधिहरु सहित करिब ७३ जना भन्दा बढीको सहभागिता रहेको थियो।

प्राधिकरणका सहायक निर्देशक निर्मल खनालले स्वागत मन्तव्य राख्दै नेपाल बीमा प्राधिकरणको परिचय, काम कर्तव्य र अधिकार, बीमाको परिचय र महत्व, कृषि जडिबुटि तथा पशुपन्छी बीमा, लघु बीमा लगायतका अन्य विषयमा प्रस्तुतिकरण गरे। तत् पश्चात्को छलफल कार्यक्रममा सहभागीहरुले बीमा प्रति नागरिकहरुमा चेतनाको कमी रहेको र बीमा प्रति स्वेच्छिक सहभागिता नरहेको कुरा व्यक्त गरेका थिए।

कार्यक्रमका अतिथि मिश्रले बीमाको बारे कम जानकारी भएको र उक्त कार्यक्रमबाट आफू समेत सचेत भएको र पालिकाले आगामी वार्षिक बजेटमा बीमालाई प्राथमिकतामा राख्ने र चालु आ.व का लागि सम्भव भए सम्म अन्य श्रोतबाट कृषि बीमालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै बीमा सम्बन्धी सूचनामूलक सन्देश सहितको होर्डिङ्ग बोर्ड पालिका आसपासका क्षेत्रमा राख्न प्राधिकरणलाई आग्रह गरे।

त्यस्तै, प्रमुख अतिथि यादवले नागरिकमा बीमा चेतनाको कमी रहेको, दावी भुक्तानी प्रक्रिया ज्यादै झन्झटिलो रहेको, बीमामा स्वेच्छिक सहभागिता कमजोर रहेको, कतिपय अभिकर्ताहरुमा बीमा सम्बन्धी पर्याप्त ज्ञान नहुँदा बीमाबाट प्राप्त हुने सेवा सुविधाको गलत प्रचार भई नागरिकहरुमा बीमा सम्बन्धी गलत बुझाई बढेको कुरा व्यक्त गरे।

उनले यस्ता समस्याहरुको बीमा प्राधिकरण, स्थानीय सरकार र बीमक समेतको सहकार्यमा समाधान गरि बीमा साक्षरता अभिवृद्धि मार्फत बीमाको दायरा बढाउन आवश्यक रहेको र पालिकाले समेत आगामी बजेटमा बीमाको लागि श्रोत विनियोजन गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रमको समापनमा प्रदेश कार्यालय प्रमुख शर्माले बीमा साक्षरता अभिवृद्धि गर्न प्राधिकरणले विभिन्न निकाय तथा सरकारहरुसंग बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिरहेको र विभिन्न क्षेत्रमा बीमा सम्बन्धी सूचनामूलक सन्देश सहितको होर्डिङ्ग बोर्ड राख्ने कार्यको प्रारम्भ भएको बताईन्।

शर्माले दक्ष अभिकर्तालाई बीमा व्यवसायमा भित्र्याउन प्राधिकरणबाटै परीक्षा सञ्चालन गर्ने प्रणालि विकास भएको र कार्यक्रममा उपस्थित बीमा कम्पनीका प्रतिनिधिहरुलाई पालिकासंग सम्पर्कमा रही पालिकालाई बीमा सम्बन्धमा आवश्यक प्राविधिक लगायतका परामर्श प्रदान गर्न र पालकिकासंगको सहकार्यमा बीमाको साक्षरता अभिवृद्धि र दायरा विस्तारको क्षेत्रमा कार्य गर्न निर्देशन दिइन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*