महोत्तरीमा बीमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले बीमा अन्तक्र्रिया कार्यक्रम गरेको छ । प्राधिकरणले महोत्तरीको औरही नगरपालिकासंग मंसिर २० गते उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
प्राधिकरण मधेश प्रदेश कार्यालयले आव २०८०।८१ को वार्षिक कार्यक्रम अनुसार स्थानीय सरकारसंग नेपाल बीमा प्राधिकरण विषयकमा सो कार्यक्रम गरेको जनाएको छ । कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा औरही नगर प्रमुख प्रदिप कुमार खड्का, विशेष अतिथीको रुपमा नगर उप–प्रमुख रेणु झा, अतिथिको रुपमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धीरेन्द्र लाल कर्ण र विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक अनिश तिमिल्सिनाले गरेका हुन् । कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु, अगुवा कृषकहरु, नागरिक समाजका प्रतिनिधिहरु लगायत बीमकका शाखा कार्यालयका प्रतिनिधिहरु गरी करिब ७० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
प्राधिकरणका सहायक निर्देशक निर्मल खनालले स्वागत मन्तव्य राख्दै नेपाल बीमा प्राधिकरणको परिचय, काम कर्तव्य र अधिकार, बीमाको परिचय, कृषि जडिबुटि तथा पशुपन्छी बीमा, लघु बीमा लगायतका अन्य विषयका बारे आफ्नो प्रस्तुति प्रस्तुतिकरण गरे ।
तत् पश्चातको छलफल कार्यक्रममा सहभागीहरुले जीवन बीमा, बीमाशुल्क गणना र भुक्तानी अवधि, कृषि तथा विभिन्न बालीहरुको बीमाका बारेमा र दावी भुक्तानी प्रक्रियामा जिज्ञासा राखेका थिए । साथै, केहि सहभागिहरुले कर्मचारी र अभिकर्ताहरुलाई पर्याप्त तालिम दिई अब्बल बनाए मात्रै गुणस्तरीय सेवा प्रवाह हुने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा जीवन बीमक र निर्र्जीवन बीमकका प्रतिनिधिहरुले स्थानीय भाषामा समेत बीमा सम्बन्धी जानकारी दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि औरही नगर प्रमुखले बीमाको सेवा प्रवाहलाई चुस्त बनाउनु पर्ने र सबैले आफ्नो जीवनको र आफ्ना सम्पत्तीहरुको बीमा गर्नु पर्ने कुरामा जोड दिदै नगरपालिका, प्राधिकरण र बीमकको सहकार्यमा बीमा सम्बन्धि थप कार्यक्रमहरु सञ्चालन गरि बीमाको साक्षरता वृद्धि मार्फत नागरिकलाई बीमाको महत्व बारे जानकारी गराउन सके मात्र बीमाको दायरा बढ्ने धारणा राखे । उनले कृषि बीमाबाट किसानहरुले पूर्ण लाभ लिन नसकेको र यसका लागि कृषि बीमा सम्बन्धी साक्षरता अभिवृद्धि गर्दै दावी भुक्तानी प्रक्रियालाई समेत छिटो छरितो र सरल बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रमको समापनमा प्रदेश कार्यालय प्रमुख शर्माले दावी भुक्तानीलाई सरल गर्न दावी भुक्तानी निर्देशन जारी भैसकेको जानकारी दिदै पालिका स्वयंले आफ्ना भौतिक संरचनाको बीमा गरि बीमा अभियानलाई सुरुवात गर्न सुझाव दिए । साथै, बीमा गराउँदै गर्दा सेवा शर्तहरु बुझि बीमा गर्न र बीमाशुल्क तिरे पश्चात अनिवार्य रुपमा रसिद लिन अनुरोध गर्दै बीमा कम्पनीका प्रतिनिधिहरुलाई समय समयमा पालिकामा आई आवश्यक समन्वय गर्नका लागि अनुरोध गरे ।