मौद्रिक नीति समीक्षाको प्रतिक्षाको घडी सकिनै लाग्दा शेयर बजारमा हरियाली, अधिकांश सूचक सकारात्मक
काठमाडौं । मौद्रिक नीतिको पहिलो तैमासिक समीक्षा सार्वजनिक हुने प्रतिक्षाको घडी सकिनै लाग्दा शेयर बजार परिसूचक नेप्से उकालो लागेको छ । मंगलबार दोहोरो अंकले घटेको नेप्से परिसूचक बुधबार ३.३३ अंकले बढेर १८४१.०४ विन्दुमा पुगेको छ ।
मंगलबार नेप्से ११.२९ को अंकले घटेर १८३६ दशमलव ५१ को विन्दुमा रोकिएको थियो । वुधबार ३७ लाख ५० हजार ८९५ कित्ता शेयर किनबेच हुँदा शेयर बजारमा एक अर्ब १४ करोड ४३ लाख २७ हजार रुपैयाँको कारोबार भएको छ । नेप्से साता अन्त्यको अघिल्लो दिन क्यापिटल मार्केटमा अधिकांश सूचकहरु सकारात्मक देखिएका छन् ।
वुधबार वाणिज्य बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रो पावर र उत्पादन तथा प्रशोधन समूह राताम्य हुँदा विकास बैंक, लगानी इन्डेक्स, जीवन बीमा, नीर्जिवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, व्यापार र अन्य गरेर ८ समूहमा हरियाली छाएको छ ।
जीवन बीमा उपसूचक सबैभन्दा बढी १२५.३० अंकले बढेर १०४२४.१७ विन्दुमा पुगेको छ भने निर्जीवन बीमा उपसूचक ७८.०२ अंकले बढेर ९८७९.१६ विन्दुमा पुगेको छ । उत्पादन तथा प्रशोधन उपसूचक सबैभन्दा धेरै ३३.२५ अंकले घटेको छ भने होटल तथा पर्यटन उपसूचक १९.८८ अंकले घटेको छ ।