गंगालाल पुगेर प्रधानमन्त्रीले बुझे गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था

२० मंसिर २०८०, बुधबार १०:५९

काठमाडौं । गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेर प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् । मुटुमा समस्या आएपछि गृहमन्त्री श्रेष्ठलाई मंगलबार साँझ गंगालाल राष्ट्रिय हृदय केन्द्र भर्ना गरिएको थियो । उनको मुटुमा एन्जियोप्लास्टी सर्जरी गरिएको छ ।

चीन भ्रमणमा रहेका बेला गत असोज ३० गते, गृहमन्त्री श्रेष्ठ सास फेर्न अफ्ठेरो महसुस गरेपछि अस्पताल भर्ना भएका थिए । त्यति बेलै उनको मुटुमा समस्या देखिएको बताइएको थियो । चिनियाँ चिकित्सकले त्यतिबेला उनको मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको भनेका थिए । चीनमा आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखामा अवरोध भएको भनिएको थियो ।

चीनमा उपचार गर्दा गरिएको स्वास्थ्य परीक्षणमा श्रेष्ठको मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको थियो । त्यो अवरोध रहेको भागमा मंगलबार गंगालाल राष्ट्रिय हृदय केन्द्रमा डा. अरुण मास्के समेतको चिकित्सकीय टोलीले एन्जियोप्लास्टी सर्जरी गरेको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए । मन्त्री श्रेष्ठ हाल उघन उपचार कक्ष (आईसीयू)मा उपचाररत रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको गृह मन्त्रालयका प्रवक्ता भट्टराईले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*