१०% लाभांश प्रस्तावसहित मितेरी डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १८ औं वार्षिक साधारण सभा डाकेको छ । बैंकले सभा पुस १४ गते सुनसरी उद्योग वाणिज्य संघ, धरान १, सुनसरीमा बिहान ११ बजेदेखि सभा बोलाएको हो ।
सभाले चुक्ता पूँजीको ०.५० प्रतिशत (५० लाख ७५ हजार सात रुपैयाँ) नगद लाभांश कर प्रयोजनका लागि र ९.५० प्रतिशत (नौ करोड ६४ लाख २५ हजार १३६ रुपैयाँ) बोनश शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ । सभाले गत आवको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहितको नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह वितरण पारित गर्नेछ ।
त्यस्तै, लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक तोक्ने, कम्पनीको प्रबन्धपत्रमा आवश्यक परिमार्जन गरिने, यस बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्था आपसमा गाभ्न संचालक समितिलाई अख्तियारी दिने लगायतका एजेण्डा रहेका छन् ।
साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर २८ गतेदेखि पुस १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात् मंसिर २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले बैंकको साधारण सभामा भाग लिन तथा नगद लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।