पक्राउपूर्जीविरुद्ध विप्लवले गरे आन्दोलनको घोषणा, २१ गते देशभर प्रदर्शन गर्ने
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले महासचिव विप्लव, खड्गबहादुर विश्वकर्मा र माइला लामालगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
काठमाडौं जिल्ला अदालतले २०७६ पुसको मुद्दामा सोमबार ३५ दिने म्याद राख्दै पक्राउ पुर्जी जारी गरेपछि विप्लव नेतृत्वको नेकपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । नेकपाले १९ गते साँझ मसाल जुलुस गर्ने, २० गते न्यायाधीशको पुत्ला दहन गर्ने र २१ गते देशव्यापी जनप्रदर्शन गर्ने घोषणा गरेको छ ।
विप्लव स्वयंले हस्ताक्षर गरेको विज्ञप्तिमा पक्राउ पुर्जी जारी हुनु २१ फागुन २०७७ मा आफूसँग सरकारले गरेको ३ बुँदे सहमतिको उल्लंघन र मुलुकका समस्याको शान्तिपूर्ण निकास दिन भइरहेका पहलमाथिको विध्वंसात्मक हमला भएको उल्लेख छ ।
विज्ञप्तिमा, ‘राज्यको जिम्मेवार निकाय अदालतमा बसेको न्यायाधीशले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भत्र्सना गर्दछ । साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ’ भनिएको छ ।
सरकारसँग गरिएको ३ बुँदे सहमतिको एउटा बुँदामा पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दीलाई मुक्त गर्ने उल्लेख गरेको विप्लवले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
राज्यसँग भएका सहमतिलाई कानूनको अंग बनाएर समस्या समाधानमा गर्न मद्दत गर्नुपर्ने अदालतले नै गैर कानूनी कदम चालेको भन्दै विज्ञप्तिमा शान्ति भाँड्न अदालत र न्यायाधीश नै सक्रिय बनेको आरोप लगाइएको छ ।