घलेम्दी हाइड्रोको २००% हकप्रदमा पुस १ गतेसम्म आवेदन दिन सकिने

१९ मंसिर २०८०, मंगलवार १२:२३

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले मंसिर १० गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको २०० प्रतिशत हकप्रद शेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ २ कित्ता शेयर निष्काशन गरेको हो । अर्थात् कम्पनीले १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ३ गते बुकक्लोज गरेको थियो । यस अनुसार कात्तिक २ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले सांग्रिला उर्जा प्रा.लिद्वारा प्रबर्धित संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयेजनामा कम्तिमा ५१ प्रतिशत शेयर कायम हुनेगरी लगानी गर्न १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो ।

लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*