नेपाल वायुसेवा निगममा क्यानले हान्यो छड्के, उडान सुरक्षामा गम्भीर लापरबाहीको ‘गन्ध’

१८ मंसिर २०८०, सोमबार १७:०५

काठमाडौं । युरोपेली युनियन (इयु)को कालो सूची नहटेको विषयमा आरोप प्रत्यारोप चलिरहँदा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगममा छड्के हानेको छ । प्राधिकरणको उड्डयन सुरक्षा विभागको टोलीले उडान सुरक्षामा गम्भीर लापर्बाहीको आशंकामा निगमको उड्डयन सुरक्षासँग सम्बन्धित सबै पक्षबारे जाँच गर्न छड्के हानेको हो ।

इयुले निगमको उड्डयन सुरक्षाको विषयमा गम्भीर प्रश्न उठाएको छ । जसलाई लिएर प्राधिकरणले छड्के जाँच गरेको बताइएको छ । ‘ईयूको प्रतिवेदनपछि उडान सुरक्षामा निगमले गम्भीर लापर्बाही गरेको पाइयो । उडान सुरक्षामा लापर्बाही गरेको प्रतिवेदनपछि उल्टै प्राधिकरणलाई दोष दिएर उम्कने प्रयास गरेपछि छड्के जाँच गरिएको हो,’ प्राधिकरणका एक कर्मचारीले भनेका छन्, ‘सुधारको काम छाडेर नियामकमाथि दोष थुपार्ने काम निगम नेतृत्वले गरेको छ । यो हवाई सुरक्षाका लागि गम्भीर चिन्ताको विषय हो ।’

नेपाल इयुको कालोसूचीबाट नहट्नुका मुख्य बाधक अधिकारी बन्धु

ईयूले ‍औंल्याएका सुरक्षा संवेदनशीलताका विषयमा प्राधिकरणको टोलीले अध्ययन गरी प्रतिवेदन दिने बताइएको छ । त्यही प्रतिवेदनका आधारमा निगम नेतृत्वलाई कारबाही गर्न बाटो खुल्नेछ । इयूको प्रतिवेदनसँगै प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई किन बर्खास्त नगर्ने भन्दै सात दिने स्पष्टिकरण सोधेको छ । यो स्पष्टिकरण प्राधिकरणले पर्यटनमन्त्री सुदन किराँतीको सहमतिमा सोधेको भनिएको छ ।

ईयूको प्राविधिक टोलीले भदौ अन्तिममा एक साता लगाएर नेपालको हवाई अडिट गरेको थियो । त्यो बेलामा टोलीले निगमको स्थलगत अध्ययन समेत गरेको थियो । अध्ययनका क्रममा टोलीले निगमको सुरक्षा व्यवस्थापन प्रणाली(सेफ्टी म्यानेजमेन्ट सिस्टम)मा गम्भीर लापरबाही गरेको भेटेको थियो ।

निगमको सुरक्षा व्यवस्थापन प्रणाली र अपरेसनल कम्प्लायन्समा अभाव देखिएको र जोखिम पहिचान र व्यवस्थापन गर्न अपर्याप्त रहेको प्रतिवेदनमा औँल्याएको छ । यस्तै, इयुले जहाज उडान सुरक्षित बनाउन आवश्यक विभागमा कर्मचारी व्यवस्थापनबारे पनि गम्भीर प्रश्न गरेको छ । सुरक्षासँग जोडिएको क्वालिटी एसुरेन्स डिपार्टमेन्टमा जनशक्ति परिचालनमा पनि समस्या रहेको प्रतिवेदनमा स्पष्‍ट रुपमा उल्लेख छ ।

उडान समय सीमा, थकान व्यवस्थापन, कागजात व्यवस्थापन, जहाजको योग्यता, सुरक्षा अनुगमन र सुरक्षा व्यवस्थापन प्रणालीमा व्यापक सुधार गर्न एक्सन प्लान नै बनाएर कार्यान्वयन गर्न सुझाव दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*