इन्स्योरेन्स इन्स्टिच्युटको दुई दिने तालिम सम्पन्न
काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल (आईआईएन) ले मधेश प्रदेशमा बीमासम्बन्धी दुई दिने ‘एडभान्स ट्रेडिङ अन अन्डरराइटिङ’ तालिम सम्पन्न गरेको छ । इन्स्टिच्युटले बीमा प्राधिकरण मधेश प्रदेशको पहलमा मंसिर १५ र १६ गते उक्त तालिम सम्पन्न गरेको हो ।
इन्स्टिच्युटले मधेश प्रदेश भित्रका सम्पूर्ण जीवन तथा निर्जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम मकालु, वीरगंज, पर्सामा सम्पन्न गरेको हो।
उक्त तालिमको समुद्घाटन नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुशुम शर्माले गरेका हुन् । जीवन बीमा अण्डरराइटिङ्ग तालिमको पहिलो दिन श्रोत–व्यक्तिका रुपमा राजीव गुर्वाचार्यले मेडिकल अन्डरराइटिङसम्बन्धी र दोश्रो दिन दिगविजय सिंगलले फाइनान्सियल अन्डरराइटिङसम्बन्धी विषयमा प्रस्तुतिकरण गरेका थिए ।
जीवन बीमा अण्डरराइटिङ्ग तालिममा विभिन्न कम्पनीहरुबाट जम्मा ४४ जनाको सहभागिता रहेको थियो।
निर्जीवन बीमा अण्डरराइटिङ्ग तालिमको श्रोत–व्यक्तिको रुपमा पहिलो दिन बि.के महर्जनले इन्जिनियरिङ बीमाको अण्डरराइटिङ्ग विषयमा र दोश्रो दिन सुद्युम्न प्रसाद उपाध्यायले सम्पति बीमाको अण्डरराइटिङ्ग सम्बन्धी विषयमा प्रस्तुतिकरण गरेका थिए।
उक्त तालिममा सम्पूर्ण निर्जीवन बीमा कम्पनीहरुबाट ४२ जनाको सहभागिता रहेको थियो। तालिमको अन्तिम दिन सहभागीहरुबाट तालिम फलदायी भएको र आगामी दिनहरुमा समेत थप तालिमहरुको आवश्यकता रहेको प्रतिक्रिया प्राप्त भएको इन्स्टिच्युटले बताएको छ।
समापन समारोहमा सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुशुम शर्माले भविष्यमा आवश्यकता अनुसार आईआईएनमार्फत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न तालिमको व्यवस्था गर्ने धारणा व्यक्त गर्दै सहभागिहरुलाई नियम परिधि भित्र रहि बीमा व्यवसाय गर्न निर्देशन दिदै कार्यक्रम समापन भएको घोषणा गरेका हुन् ।