खाल्डो खनेर गैंडा मार्ने आठ सिकारी पक्राउ, पक्राउ पर्ने अधिकांश मकवानपुरका
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्र खाल्डो खनेर दुई वटा गैँडा मार्ने आठ जना सिकारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर हटौंडा उपमहानगरपालिका-३ लेबर्टका रमेश खाती, चितवन राप्ती नगरपालिका-११ ठाकलटारका पासाङ भन्ने आइते सिंह मोक्तान, मकवानपुर राक्सिराङ गाउँपालिका–९ घर भई हेटौंडा उपमहानगर–४ बस्ने शमशेर थिङ, मकवानपुर गाउँपालिका-६ नयाँबस्तीका थिङ बाजे भन्ने सीताराम थिङ रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताएका छन् ।
यस्तै, रोल्पा सुनछहारी गाउँपालिका–६ फगाम घर भई हाल मकवानपुर हटौंडा उपमहानगरपालिका–५ बस्ने अर्जुन रोका, गोरखा बारपाक घर भई हाल चितवन भरतपुर महानगरपालिका–११ लामाटोल बस्ने घले भन्ने धनबहादुर गुरुङ, चितवन कोराक गाउँपालिका–११ थाकलटार बस्ने उनबहादुर स्याङतान र मकवानपुर मनहरी नगरपालिका–७८ ज्यामिरे घर भई चितवन माडी नगरपालिका-९ बाँदरझुला बस्ने स्याङ्बो भन्ने इन्द्रबहादुर तामाङ रहेको निकुञ्जले जनाएको छ ।
पक्राउ परेका पासाङ, स्याङ्बा र उनबहादुर मार्ने सिकारी, थिङ खाग बेच्न सहयोगी रहेको बताइएको छ । अन्य अभियुक्तलाई भने गैँडाको खाग ओसारपसार तथा बिक्री वितरणको अभियोग लगाइएको छ । पक्राउ परेकाबाट १८ इन्च गोलाइ, छ इन्च उचाइ भएको ४८० ग्राम र ११.८ इन्च गोलाइ र दुई इन्च उचाइ भएको ६० ग्राम तौलको समेत दुई वटा खागसहित गैँडा मार्न प्रयोग गरिने भरुवा बन्दुक तथा अन्य सामान पनि बरामद गरेको छ ।
बरामद गरिएका अन्य सामानमा कालो झोला, बिँड नभएको बन्चरो, चक्कु, भरुवा बन्दुकमा प्रयोग हुने फलामको टुक्रा, गुलेली, टर्च लाइट, डेक्ची, पटाका बारुद, ब्ल्याङ्केट छन् । निकुञ्जले दिएको जानकारी अनुसार उनीहरूले प्रयोगमा ल्याएको ना. २४ प ४२३४ र ना. ३६ प ५५०१ का दुई वटा पल्सर मोटरसाइकल पनि बरामद गरिएको छ ।
दशैं तिहारमा सुरक्षाकर्मीको आँखा छलेर मारियो गैंडा
गैँडा मार्न सिकारीलाई २० दिन लागेको अनुसन्धानबाट खुलेको छ । गत कार्तिक ३० गते मृत अवस्थामा भेटिएका दुवै पोथी गैँडा मार्न सिकारीहरू बन्दोबस्तसाथ निकुञ्जभित्रै बसेको थाहा भएको छ । १८ वर्षको पोथी गैँडा मारेको १० दिन र ६ वर्षको पोथी मारेको तीन दिनपछि मात्रै मृत भेटिएका हुन् । अनुसन्धानमा संलग्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी उपरीक्षक नवराज अधिकारीले सिकारीले २० दिन लगाएर गैँडा मारेको जानकारी दिएका छन् ।
निकुञ्जको पूर्वी क्षेत्रमा चुरे पहाडको फेदीमा रहेको चपरचुली क्षेत्रस्थित निकुञ्जकै कोर इलाकामा गैँडा मारेर खाग लगेको अवस्थामा भेटिएपछि निकुञ्जसँगै नेपाली सेना र प्रहरीको विशेष टोलीले संयुक्त अनुसन्धान गरेको थियो ।
गैँडालाई खाडलमा हालिसकेपछि ठुलो चाहिँ आफैँ मरेको हो भने सानोलाई गोली हानेर मारिएको पनि भेटिन्छ । घटनाको अनुसन्धान गर्न वन तथा वातावरण मन्त्रालयले गठन गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले पनि आफ्नो प्रतिवेदन विभागलाई बुझाएको छ ।
विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुङ्गानाका अनुसार दशैँ तिहार जस्ता चाडबाडका बेला सिकारीले निकुञ्जका सुरक्षाकर्मी र नेपाली सेनालाई पनि छलेर गैँडा मारेको अनुसन्धानमा देखियो । अझै पनि अवस्था चुनौतीपूर्ण रहेको भन्दै विशेष सुरक्षा अवलम्बन गर्न प्रतिवेदनमा सुझाव दिइएको जानकारी ढुङ्गानाले दिए ।