जीवन बीमा कम्पनीद्वारा कर्मचारीलाई साढे १ अर्ब रुपैयाँ बोनस वितरण, मर्जरमा गएका कम्पनीको वृद्धिदर उत्कृष्ट
काठमाडौं । जीवन बीमा कम्पनीहरुले प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार चालु आवको प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरुले १ अर्ब ५५ करोड रुपैयाँ बोनस कर्मचारीलाई वितरण गरेको देखिएको हो ।
नेपाल लाइफले सर्वाधिक २१ करोड ४५ लाख रुपैयाँ बोनस वितरण गरेको छ । कम्पनीले गत आवको सोही अवधिमा २१ करोड ७४ लाख बोनस वितरण गरेको थियो । कम्पनीको बोनस वितरण दर १.३५ प्रतिशतले घटेको हो ।
हिमालयन लाइफले कर्मचारीलाई २० करोड २० लाख रुपैयाँ बोनस वितरण गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २५ करोड १३ लाख रुपैयाँ बोनस वितरण गरेको थियो । कम्पनीले कर्मचारी बोनस सर्वाधिक १९.६१ प्रतिशतले घटाएको हो ।
राष्ट्रिय जीवन बीमा कम्पनीको बोनस वृद्धिदर सबैभन्दा उच्च देखिएको छ । कम्पनीको कर्मचारी बोनस दर १०४३.२० प्रतिशतले बढेको हो । त्यस्तै, मर्जरमा गएका कम्पनीहरुले कर्मचारी बोनस दर बढाएका छन् । सानिमा रिलायन्सले १३१.०५, सूर्यज्योतिले ७०.९५ र प्रभु महालक्ष्मीले ४९.१६ प्रतिशतले कर्मचारी बोनस दर बढाएका हुन् ।