असोजको तुलनामा कात्तिक महिनामा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्कमा उच्च गिरावट, कसको अवस्था कस्तो ?
काठमाडौं । कात्तिक महिनाको नयाँ जीवन बीमा व्यवसायमा उच्च अंकको गिरावट आएको छ । गत असोज महिनाको तुलनामा कात्तिक महिनाको नयाँ जीवन बीमा व्यवसायमा २०.१४ प्रतिशतले तल झरेको हो ।
असोज महिना जीवन बीमा कम्पनीहरुले २ अर्ब ३८ करोड रुपैयाँको नयाँ व्यवसाय गरेकोमा कात्तिक महिनामा १ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ । असोज महिनाको तुलनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन कात्तिक महिनामा निराशाजनक रहेको तथ्याङ्कले देखाएको छ ।
नेपाली समुदायको महान चाँडपर्व दशै, तिहार लगायत छठ पर्वहरु कात्तिक महिनामा परेकाले बीमा कम्पनीहरु बन्द रहेका थिए । जसका कारण कात्तिक महिनामा बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन घट्न पुगेको हो ।
असोज महिनाको तुलनामा जीवन बीमा कम्पनीहरुमध्ये राष्ट्रिय जीवन बीमा कम्पनी, नेपाल लाइफ र नेशनल लाइफको मात्र नयाँ व्यवसाय कात्तिक महिनामा बृद्धि भएको छ ।
बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सूर्यज्योति लाइफसहितका जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्कमा भारी गिरावट आएको हो । गत असोज महिनामा १८ करोड ७ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको सूर्यज्योति लाइफले कात्तिक महिनामा जम्मा १० करोड ५२ लाख रुपैयाँको नयाँ व्यवसाय गरेको छ ।
नेपाल लाइफको नयाँ बीमा व्यवसाय २.३९ प्रतिशतले बृद्धि भई ५० करोड ७९ लाख रुपैयाँबाट ५२ करोड १ लाख रुपैयाँ पुगेको छ । दोस्रो ठूलो कम्पनी नेशनल लाइफको पनि असोज महिनाको तुलनामा कात्तिक महिनामा प्रथम बीमा शुल्क ० दशमलव १२ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको प्रथम बीमा शुल्क आर्जन ३५ करोड ८ लाख रुपैयाँबाट बढेर ३५ करोड १३ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, तेस्रो ठुलो कम्पनी एलआर्ईसी नेपालको प्रथम बीमा शुल्क ८.२५ प्रतिशतले घटेको छ । कम्पनीले असोज महिनामा १८ करोड ६८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेकोमा कात्तिक महिनामा १७ करोड १४ लाख रुपैयाँमा सीमित भएको छ ।
असोज महिनाको तुलनामा सिटिजन लाइफ, हिमालयन लाइफ र आइएमई लाइफको नयाँ व्यवसाय कात्तिक महिनामा घटेको प्रकाशित तथ्यांकले देखाएको छ ।