ऋण मुक्त भए पनि इन्धनको मूल्य घटाएन आयल निगमले
काठमाडौं । नेपाल आयल निगम ऋण मुक्त भएको छ । ऋण मुक्त भए पनि निगम इन्धनको मूल्य समायोजन गर्न इच्छुक देखिँदैन । बुधबारदेखि करिब ५० अर्ब रुपैयाँ ऋणको भारी विसाएको निगमले २०७७ सालदेखि घाटामा रहेको बहाना गर्दैै ऋणको दायित्व समेत उपभोक्ता मूल्यमा जोड्दै आएको छ ।
आयल निगमले भारतीय आयल निगमबाट तेल खरिद गर्न भन्दै नेपाल सरकारबाट ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋण लिएको थियो । पेट्रोलियम पदार्थ खरिद बापतको २४ अर्ब रुपैयाँ यसअघि नै निगमले चुक्ता गरिसकेको छ ।
बुधबार अन्तिम किस्ता बापतको ७० करोड रुपैयाँ बुझाएसँगै निगम ऋण मुक्त भएको हो ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिले महँगीको मारमा परेका उपभोक्ताले निगम ऋण मुक्त भएसँगै मूल्य समायोजन गर्न माग गरेका छन् । आयल निगमले असारदेखि स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । तर असोजदेखि त्यो प्रणाली समेत सञ्चालनमा ल्याएको छैन ।
स्वचालित मूल्य प्रणाली कार्यविधिअनुसार विक्री मूल्य निर्धारण गर्दा पेट्रोलमा २ दशमलव ५ प्रतिशत र डिजेलमा २ प्रतिशत मात्र मुनाफा राख्न पाउने व्यवस्था छ । अहिले निगमले पेट्रोलमा ३ रुपैयाँ र डिजेलमा २ रुपैयाँ नाफा राख्दै आएको छ । खाना पकाउने एलपी ग्यासमा भने निरन्तर घाटा खाइरहेको निगमको भनाइ छ ।