रवि लामिछाने पनि रविन्द्र मिश्रकै बाटोमा, मधेश बैठकबाट प्रदेश ‘खारेजी’को प्रस्ताव पास

१४ मंसिर २०८०, बिहीबार ०९:४६

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश खारेजीको प्रस्तावसहितको राजनीतिक प्रतिवेदन पारित गरेको छ । महोत्तरीको जलेश्वरमा तीन दिन चलेको विस्तारित (केन्द्रीय समिति, संसदीय दल र प्रदेश समितिका सभापतिसहितको) बैठकले प्रदेश संरचनाको विकल्प सोच्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन पारित गरेको हो । जुन राजनीतिक प्रतिवेदन सभापति रवि लामिछानेले प्रस्तुत गरेका थिए ।

प्रतिवेदनमा ‘अहिलेको प्रदेश संरचनाले हामीलाई कहीँ लैजाँदैन । त्यसमाथि यो भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्ती केन्द्र बनेकोछ । यसकोविकल्प सोच्न ढिला गर्नु हुन्न’ भनिएको छ । यो प्रतिवेदन पारितपछि धेरैले रविलामिछानेले पनि रविन्द्र मिश्रकै लय पक्डिएको टिप्पणी गरेका छन् ।

प्रदेश संरचनाबारे नागरिकको धारणा र असन्तुष्टिमा पनि बारम्बार आवाज उठाइरहेको उल्लेख गर्दै प्रतिवेदनमा प्रदेश संरचना परिवर्तन अत्यावश्यक छ भनी जोड दिइएको छ । उक्त राजनीतिक प्रतिवेदनमा चितवन ‘क्रान्ति’कै मोडलमा मुलुकको अवस्था बदल्न सकिने समेत जिकिर गरिएको छ ।

‘चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा हामीले ७५ प्रतिशत मत पायौं । त्यसले अहिलेकै निर्वाचन प्रणालीमा पनि एउटै दलले दुई तिहाइ बहुमत ल्याउन सम्भव छ भन्ने संकेत चाहिँ गर्छ । कुनै एउटा दलले दुई तिहाइ बहुमत ल्याउँदा अहिलेका विकृति–विसंगति नियन्त्रणसहित नागरिकका आकांक्षा पूरा गर्ने गरी सबै किसिमका परिवर्तनको ढोका खोल्न सकिन्छ नै,’ पार्टी सभापति लामिछानेको राजनीतिक प्रतिवेदनमा भनिएको छ । चितवन २ मा पुनः निर्वाचन भएकोमा दोस्रो पल्ट पनि पार्टी सभापति लामिछाने नै निर्वाचित भएका थिए ।

२०७९ को संघीय निर्वाचनमा चितवनले प्रचलित क्रान्तिको परिभाषा नै बदलिदिएको जिकिर गरिएको छ । पार्टी स्थापनाको करिब ६ महिनामैं रास्वपा मुलुकको चौथो राजनीतिक शक्ति बनेको र पार्टीको विश्वास र अभ्यास गर्ने चितवन मोडेलको आन्दोलन भएको निष्कर्ष लामिछानेले निकालेका छन् । -फाइल फोटो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*