जीवन बीमा कम्पनीहरुको नविकरण एक महिनामै २७ प्रतिशतले घट्यो, के होला कारक तत्व ?
काठमाडौं । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शूल्क आर्जन एक महिनाको अन्तरालमा २७.५३ प्रतिशतले घटेको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको कात्र्तिक महिनासम्मको वित्तीय विवरण अनुसार असोज महिनादेखि कात्तिक महिनासम्मको अन्तरालमा नविकरण बीमा शुल्क घटेको हो ।
असोज महिनामा जीवन बीमा कम्पनीहरुले नौ अर्व २८ करोड ७५ लाख रुपैयाँ रहेको नविकरण बीमा शुल्क आर्जन कात्तिक महिनामा ६ अर्ब ७३ करोड ६ लाख रुपैयाँमा सीमित रहेको छ ।
देशमा रहेको आर्थिक मन्दीको असर बीमा क्षेत्रमा पनि देखा परेको छ । जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क आर्जनमा देखिएको गिरावटको प्रत्यक्ष असर बीमा सरेण्डरमा देखा पर्ने तथ्यांकले देखाएको छ ।
बैंक तथा वित्तीय क्षेत्रमा परेको आर्थिक संकटको कारण बीमा क्षेत्र पनि पर्नु स्वभाविक नै रहेको जीवन बीमक संघका अध्यक्ष एवंम सिटिजन लाइफका सीईओ पोषक राज पौडेल बताँउछन् ।
बीमा क्षेत्रमा पछिल्लो समय मर्जरको कारण पनि अभिकर्ताहरुमा काम गर्ने शैली मोडिफाई गर्नुपर्ने भएको कारणले गर्दा पनि नविकरण बीमा शुल्क आर्जन घट्न गएको उनी बताँउछन् ।
मर्जर पश्चात कम्पनीको नाम परिवर्तनको कारण पनि समस्या परेको बीमितहरुको धारणा रहेको छ । सो कारण पनि बीमालेखहरु पर्याप्त मात्रामा नविकरण हुन नसकेको अभिकर्ताहरुको जिकिर रहेको छ ।
असोज महिनाको तुलनामा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये सन नेपाल लाइफको मात्र नविकरण बीमा शूल्क आर्जन बृद्धि भएको छ । असोज महिनाको तुलनामा कम्पनीको नविकरण बीमा शुल्क आर्जन ६ दशमलव ३४ प्रतिशतले बृद्धि भएको छ । असोज महिनामा १४ करोड ५३ लाख रुपैयाँ रहेको नविकरण बीमा शुल्क आर्जन कात्तिक महिनामा १५ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।
कात्तिक महिनामा मात्र नेपाल लाइफको नविकरण बीमा शुल्क आर्जन असोज महिनाको तुलनामा १९.०५ प्रतिशतले घटेर एक अर्ब ९६ करोड ७४ लाख रुपैयाँमा सीमित रहेको छ । साथै, हिमालयन लाइफको २७.७९ प्रतिशतले घटेर ८८ करोड ७६ लाख रुपैयाँ, एलआइसी नेपालको २९.४९ प्रतिशतले घटेर ८८ करोड ६६ लाख रुपैयाँमा सीमित रहेको छ ।
नेशनल लाइफको १९.७४ प्रतिशत, एशियन लाइफको २५.२७ प्रतिशत, सूर्यज्योति लाइफको ३८.५३ प्रतिशत, मेट लाइफको २१.४३ प्रतिशत, सिटिजन लाइफको ३९.५७ प्रतिशत र रिलायबल नेपाल लाइफको ३९.६८ प्रतिशतले नविकरण बीमा शुल्क आर्जन घटेको छ ।
सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन असोज महिनाको तुलनामा ७३ दशमलव ५५ प्रतिशतले घटेको छ ।