सेजनका पूर्वअध्यक्ष गौतम इप्पानको प्रमुख कार्यकारी नियुक्त
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्व अध्यक्ष भीमप्रसाद गौतम स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को प्रमुख कार्यकारी नियुक्त भएका छन् । इप्पानले गौतमलाई बुधबार तीन वर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरेको हो । इप्पान अध्यक्ष गणेश कार्कीले गौतमलाई प्रमुख कार्यकारीको रुपमा स्वागत गरेका छन् ।
इप्पानका नवनियुक्त प्रमुख कार्यकारी गौतमले इप्पानलाई नयाँ उचाईं दिन आफूले शतप्रतिशत योगदान गर्ने बताए । काभ्रेपलाञ्चोकको बनेपाका गौतमसँग दुई दशक लामो पत्रकारिताको अनुभव छ भने पछिल्लो १५ वर्षदेखि ऊर्जा र पूर्वाधार क्षेत्रका विविध मुद्दामा कलम चलाएका छन् ।
सेजनका पूर्व अध्यक्ष गौतम राजधानी दैनिक, सौर्य दैनिक, रेडियो नेपाल, इमेज च्यानल, नेपाल वान च्यानल, कारोबार दैनिक हुँदै पछिल्लो समय नेपाल पूर्वाधार डटकममा सम्पादकीय नेतृवमा थिए । नयाँ बानेश्वरस्थित सेफर्ड कलेजमा पत्रकारिता अध्यापन गराउने गौतम अनुसन्धान गर्ने संस्था सीआरआई नेपालका कार्यकारी निर्देशक समेत हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता विषयमै एमफिल गरेका छन् ।
देशभरका ४५० भन्दा बढी ऊर्जा उत्पादकआवद्ध रहेको इप्पान ऊर्जा उद्यमीहरुको छाता संस्था हो । इप्पानमा आवद्ध संस्थामध्ये १६३ आयोजनाबाट १ हजार ७०० मेगावाट विद्युत उत्पादन हुनुका साथै, ३ हजार २०० मेगावाट क्षमताका १३६ आयोजनाहरु निर्माणाधिन र ३ हजार ५०० मेगावाट क्षमताका १२६ आयोजना निर्माणको तयारीमा छन् । क्षेत्रगत लगानीका हिसाबले सबैभन्दा धेरै लगानी भएको ऊर्जा क्षेत्रमा नेपालको निजी क्षेत्रबाट १३ खर्ब रुपैयाँ लगानी भएको बताइन्छ ।