रुकुम पश्चिममा मात्रै त्रिपालमा बसिरहेका ६ भूकम्प पीडितको मृत्यु

१३ मंसिर २०८०, बुधबार १०:४९

काठमाडौं । रुकुम पश्चिममा त्रिपालको ओतलिएर बस्दै आएका छ जना भूकम्प पीडितको मृत्यु भएको छ । आठविसकोट नगरपालिकामा पाँच जना र सानी भेरी गाउँपालिकामा एक जना भूकम्प पीडितको मृत्यु भएको हो ।

आठविसकोट नगरपालिका -१४ का वडा अध्यक्ष हुकुम बहादुर पुनले दिएको जानकारी अनुसार वडाको पिपलचौर गाउँमा दुई जनाको मृत्यु भएको छ । त्रिपालको ओतलिएर बस्दै आएका स्थानीय ६८ वर्षीय टिकु जैसी र खली जैसीको मृत्यु भएको वडा अध्यक्ष पुनले जानकारी दिए । टिकुको मङ्सिर १० गते र खलीको १२ गते मृत्यु भएको हो ।

आठविसकोटको ११ नम्बर वडामा तीन जनाको मृत्यु भएको छ । कात्तिक ३० गते ७० वर्षीय दत्ते पुन, मङ्सिर ५ गते ८० बर्सिया पद्मी ओली र मङ्सिर ११ गते ७५ वर्षीय नौले पुन मगरको मृत्यु भएको हो ।

उता, सानी भेरी गाउँपालिकामा पनि चिसोको कारण एक जनाको मृत्यु भएको छ । सानी भेरी गाउँपालिका-१ जंगलगाउँकी ६२ वर्षीया नन्दकली पुनको मङ्सिर १० गते मृत्यु भएको वडाध्यक्ष टेकबहादुर पुनले बताए । भूकम्पले घर बस्न नमिल्ने भएपछि उनीहरु त्रिपालको ओतलागेर बस्दै आएका थिए । मृतक कोही ज्येष्ठ नागरिक, कोही सुत्केरी र केही दीर्घ रोगी रहेको समेत बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*