अधिकांश बीमा कम्पनीको शेयरमूल्यमा गिरावट, आज कुनको कतिले घट्यो ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । नेप्सेमा कारोबार भएका उपसूचकहरुमध्ये जीवन बीमा र निर्जीवन बीमा उपसूचकहरुमा गिरावट आएको छ ।
मंगलबार जीवन बीमा उपसूचक ०.२३ प्रतिशत अर्थात ७.२४ अंकले घटेर १० हजार ४६८ को विन्दुमा कायम भएको छ । नेप्सेमा ११ वटा जीवन बीमा कम्पनीको कारोबार भएको छ । जसमा ७ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने तीन कम्पनीको बढ्दा १ कम्पनीको सोही मूल्यमा कारोबार भएको छ । नेप्सेका आधारमा एलआइसी नेपालको १ हजार ४१० रुपैयाँ शेयरमूल्यमा कारोबार भएको छ ।
मंगलबार निर्जीवन बीमा कम्पनीको उपसूचक ०.०२ प्रतिशतले घटेको छ । यस दिन १२ निर्जीवन बीमा कम्पनीहरु शेयर कारोबार भएको थियो । जसमा ६ कम्पनीको शेयरमूल्य बृद्धि र ६ वटा कम्पनी शेयरमा गिरावट आएको छ ।
नेप्सेका आधारमा मंगलबार सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको १३ हजार ६ सय रुपैयाँले सर्वाधिक शेयरमूल्यमा कारोबार भएको छ ।