छैठौं सामाजिक सुरक्षा दिवस भव्यताका साथ सम्पन्न, प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन
काठमाडौं । छैठौं सामाजिक सुरक्षा दिवस भव्यताका साथ सम्पन्न भएको छ । प्रमुख अतिथि प्र्रधानमन्त्री पुष्प कमल दहाल ‘प्रचण्ड’ले उक्त वार्षिक उत्सवका कार्यक्रमको उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका मानिसलाई मात्र नभई उनीहरुको परिवारलाई समेत आवश्यक सेवा सुविधा उपलब्ध गराइने बताए । ‘वैदेशिक रोजगारमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्व गर्न आएका सम्पूर्ण समस्यालाई सक्दो चाँडो सामाधान गरिनेछ’ उनले भने ।
सामाजिक सुरक्षा कोषले विभिन्न करार कर्मचारी, कामदार तथा वैदेशिक रोजगारमा रहेका श्रमिकलाई उद्देश्य अनुसार समेट्न नसकेकोप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालका न्यून आय भएका नागरिक तथा सुकुम्बासीहरुको समस्या सामाधान गर्न आवश्यक नीति तथा विधि सरकारले तयार गरिसकेको र चाँडै सुकुम्बासी समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।
साथै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सामाजिक सूरक्षा कोषको रकम बैंकमा मुद्दती निक्षेपमा राखेर ब्याज खान नहुने बताए । उनले भने, ‘नेपाल सरकारले सामाजिक सुरक्षा कोषको पूँजीलाई पुर्वाधार तथा औद्योगिक विकासमा लगानी गरी रोजगारीको अवसर सिर्जना गर्यो भने राम्रो हुन्छ’ ।
नेपाल उद्योग परिसँघका अध्यक्ष राजेन्द्र मल्लले सामाजिक सुरक्षा कोषको लागि आफुहरु सधै सहकार्य गरिरहेको बताए । ‘सामाजिक सुरक्षा कोषको रकम कुनै राम्रो र विश्वाशिलो क्षेत्रमा लगानी गर्न आवश्यक रहेको छ’ उनले भने ।
सामाजिक सुरक्षा कोषमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनेलाई वार्षिक उत्सवको अवसरमा प्रधानमन्त्री प्रचण्डले विभिन्न स्थानीय तह, स्वास्थ्य क्षेत्रका संस्थाहरु लगायतका अन्य निजि क्षेत्रहरुलाई प्रमाणपत्रसहित सम्मान गरेका थिए ।