नेपाल धितोपत्र बोर्डको अध्यक्ष हुन दौडधुप सुरु, यी हुन आधा दर्जन आकांक्षी
काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज र दुई कमोडिटी एक्सचेञ्जको लाइसेन्सको विवाद चर्किरहेका बेला नेपाल धितोपत्र बोर्डको नयाँ नेतृत्वको दौडधूप सुरु भएको छ । भीष्मराज ढुङ्गानामाथि अनियमितताको आरोप लागेपछि पौने दुई वर्षे समयावधिका लागि धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएका रमेश हमालको कार्यकाल आगामी पुस २१ गतेबाट सकिदैछ । कार्यकाल सकिनुभन्दा एक महिना पहिले विदामा बस्नु पर्ने चलनका कारण सम्भवतः ९/१० दिन पछि उनी घर जानेछन् ।
बोर्डको नयाँ नेतृत्वका लागि हाल छ जनाको नाममाथि चर्चा सुरु भएको छ । यद्यपि अहिले सार्वजनिक भएको नाम मात्रै पर्याप्त हुँदैन । नियुक्तको समय नजिकिँदै जाँदा थप प्रतिद्वन्दीहरु मैदानमा आउनेछन् । धितोपत्र बोर्डको अध्यक्षका लागि बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र कृष्णराज पोखरेलले दाबी गरिरहेका छन् । पीएचडी होल्डर अधिकारीले नेतृत्वको दावी गरेका हुन् । अधिकारी र पोखरेलले यसअघि पनि आवेदन दिएका थिए । त्यस्तै, निवर्तमान कार्यकारी निर्देशक निरज गिरी पनि मैदानको रिङभित्रै रहेका छन् ।
नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत साउदले भने वर्तमान अध्यक्ष हमाल नदोहोरिए मात्रै आफु मैदानमा उत्रिने बताएका छन् । साउद नेप्सेका पूर्व कार्यकारी निर्देशक हुन् । तर, भित्री रुपमा साउद बलिया दावेदार हुन् । अर्थमन्त्रालय नेपाली कांग्रेसको भागमा रहेको र आरजु राणा निकट भएकोले साउदको सम्भावना बलियो छ ।
धितोपत्र बोर्डको अध्यक्षका लागि अर्का बलियो दावेदार हुन अर्थविद डा. गोपाल भट्ट । उनी अहिले माओवादीको समर्थनमा कुनै न कुनै राजनीतिक नियुक्ती लिएर वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई सहयोग गर्ने मनस्थितिमा देखिएका छन् । नेपाल राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशक शिवराज श्रेष्ठ पनि धितोपत्र बोर्डको अध्यक्षमा दावी गर्ने मनस्थितिमा रहेका छन् ।
दोहोरिने तयारीमा हमाल
शेरबहादुर देउवा प्रधानमन्त्री र जनार्दन शर्मा अर्थमन्त्री हुँदा बोर्डको अध्यक्ष नियुक्त भएका हमाल आफुले थालेका काम पूरा गर्न नपाएको र पूर्ण कार्यकालको स्वाद पनि लिन नपाएको भन्दै फेरि दोहोरिने दाउमा छन् । बाहिर पत्रकार र नेताहरुसँगको भेटवार्ताको क्रममा उनले ‘अब म बस्दै बस्दिन, राजिनामा गोजीमै छ’ भन्ने गरेका छन् । विद्युत् प्राधिकरणबाट क्यापिटल मार्केटको नियामक निकाय छिरेका हमाललाई सिमित घरानाले रुचाए पनि व्युरोक्रेसी अर्थात् कर्मचारीतन्त्रभित्रका कसैले रुचाएका छैनन् । त्यस कारण उनी खल्ती मै राजीनामा बोकिरहेको भन्दै हिँड्छन् ।
धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ को उप दफा ६ बमोजिम नेपाल सरकारले चाहेमा पुनः आगामी चार वर्ष, दोस्रो कार्यकालका लागि नियुक्ती दिन सक्नेछ । सरकारले हमाललाई नै पुनःनियुक्त गर्न चाहे आवेदन माग गरिरहनु पर्दैन । मन्त्रिपरिषद्ले चार वर्षका लागि सोझै नियुक्त गर्नसक्छ । सरकारले हमाललाई पुनः नियुक्ति दिने नचाहे खुल्ला आवेदन आह्वानमार्फत नयाँ नियुक्ती गर्नुपर्छ ।