नयाँ स्टकको लाइसेन्सवाला फाइल पुग्यो प्रधानमन्त्री कार्यालय
काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको अनुमतिका लागि अघिबढाइएको फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेको छ । प्रतिनिधि सभाको अर्थ समितिले पुरानो निर्णय उल्टाउँदै लाइसेन्स दिन बाटो खोलेको छ भने सर्वोच्च अदालतले समेत लाइसेन्स वितरण गर्ने बाटो खुला गरिदिएको छ । सरकारले भने औपचारिक निर्णय गरिसकेको छैन ।
स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्ज खोल्नका लागि शंकर समूह र इन्फिनिटी होल्डिङले बढी कसरत गरेका बताइन्छ । धितोपत्र बोर्डमा रमेश हमाललाई नियुक्त गर्न पनि यी दुई समूह नै सक्रिय रहेका बताइन्छ । र, स्टकको लाइसेन्स दिन अन्तिम कसरत भइरहेको छ । सम्भवतः अबको मन्त्रिपरिषद् बैठकले नयाँ स्टक खोल्न अनुमति दिनेसम्मको जानकारी बाहिर चुहिएको छ भने हमालकै पहलमा नयाँ ब्रोकर लाइसेन्स वितरण भइसकेको छ ।