रवितिर हेर्दै प्रचण्डले भने : ‘टिकटक बन्द गर्न एमालेसहित सत्ताबाहिर रहेका सबैको सहमति छ’
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आफु प्रधानमन्त्रीको कुर्सीमा रहेसम्म नेपाली समाजमा विकृति, विसंगति र अराजकता फैलाउन छुट नदिने बताएका छन् । भक्तपुरको मध्यपुर थिमि शंखधर चोकमा नेपाल संवत ११४४ का अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सम्बन्धमा गरेको निर्णयको प्रसंग उल्लेख गर्दै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सामाजिक सद्भाव र पारिवारिक एकतामा खलल आउनबाट बचाउन टिकटकमाथि प्रतिबन्ध लगाउनु परेको आशय व्यक्त गरे । उनले टिकटकको नाम नलिई आशयपूर्ण ढंगले सरकारी निर्णयबारे प्रष्ट्याएका हुन् ।
रास्वपा केन्द्रीय सभापति रविलामिछानेतिर हेर्दै प्रधानमन्त्री प्रचण्डले सत्तामा रहेका दलहरु मात्र नभई प्रमुख प्रतिपक्ष एमाले र सरकार बाहिर रहेका सबै दलहरुसँगको सहमतिपछि यो निर्णय लिइएको बताए । उनले समाजमा विकृति, विसंगति र अराजकता फैलाउने खालका प्रवृत्ति नियन्त्रण गर्न अतिजरुरी भएर नै आफुहरुले यस्तो हिम्मत गरेको जिकिर गरे ।
उनले भने, ,‘म प्रधानमन्त्रीको हैसियतले नेपाली समाजमा विकृति, विसंगति र अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोकेर जानुपर्छ । नियमन गर्नु पर्छ । रोक्नेलाई रोक्नुपर्छ र नियमन गर्नेलाई नियमन गर्नुपर्छ भन्ने मान्यताबाट उत्प्रेरित भएर सबैको सहमतिमा निर्णय गरिएको हो । केही साथीहरुको चित्त बुझेको छैन । छलफल हुँदै जाला । कन्भिन्स हुँदैजाने प्रक्रिया छँदैछ ।’
प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रियस्तरमा समेत सबैभन्दा लोकतन्त्रिक र विकसित देशले अपनाएका विधि र मान्यता समेतको अध्ययन गरेर तथा नेपालमा विभिन्न मामिलाका जानकार एवं अध्येयताहरुसँग समेत छलफल गरेर टिकटक बन्द गरिएको आशय व्यक्त गरे ।