थापाथली चोकको सडक क्षेत्रमा पर्ने जग्गामा धमाधम भवन ठडिँदै, महानगरपालिकाबाटै ‘नक्सा पास’
काठमाडौं । मान्छेहरुले त्यसै त भन्दैनन्, ‘नेताले विगारे, पहुँचवालाले विगारे, विचौलियाले विगारे र तिनका अगुवा पछुवाहरु सबैले विगारे ।’ हो, विगार्नेहरु कै विगविगी छ, यहाँ । धेरै पर नपुग्नोस् । एक पल्ट सर्र त्रिपुरेश्वरमा उभिएको त्रिभुवन सालिकबाट बाँयाहात मोडिदै हामी सबैलाई मर्दा र पर्दा (रुन, कराउन, उफ्रिन, कुल्चिन)चाहिने माइतीघरसम्म पैदल या मोटरको यात्रा गर्नोस् । तपाइँलाई लाग्दैन ? के नमिल्या, के नभा जस्तो !
कुनै गगनचुम्बी महल सडक छेवैमा ठिङ्ग उभिएका । कुनै च्वास्स भित्र छिरेका । कसैका कम्पाउण्ड वाल बाटो र फुटपाथबाट केही पर । कसैले चाहिँ सडक र फुटपाथलाई कुनै वास्ता नगरेका । यस्तै–यस्तै कच्याङ् कुचुङ । यत्ति थाहा पाउन फुर्सदै निकाल्नुपर्छ भन्ने चाँहि छैन । यसो गाडी जाम परेका बेला तनक्क घाँटी तन्काएर हेर्दा भइहाल्यो । अनि यसो गर्धन खुम्च्याएर अग्ला गगनचुम्बी महलको टुप्पादेखि जरैसम्म हेर्नोस् । के नमिल्या नमिल्या जस्तो लाग्दैन ? एकपल्ट शहरबासीको चस्माबाट हेर्नुभयो भने पक्कै त्यस्तो अनुभव गर्नुहुन्छ । ध्यानजति राम्रा, चिल्ला गाडीका सोरुमतिर लगाउनु भयो भने चाँहि खासै भेउ पाउनु हुन्न । एकछिन्, लोभलाग्दो झिलिमिलीलाई गोली मार्नोस् ।
अनि आफु महानगरबासी वा देशको मूख्य राजधानीबासी भएको चस्माले हेर्नोस्, पक्का केही न केही देख्नुहुन्छ । गाडीमा हिँड्नेलाई त सर्रै फिल हुन्छ, पैदल हिँड्नेलाई सहज छैन । देश कै व्यस्त ठाउँ हो, थापाथली क्षेत्र । नेपालको एकमात्र परोपकारी प्रसुति गृह, इन्जिनियरिङ क्याम्पस मात्र नभई हालको राहदानी विभाग जाने मुख्य मार्ग नै यही भएका कारण सबैले गाडी चढ्छन् भन्ने छैन । अधिकांश पैदल नै गन्तव्यमा पुग्छन् । अझ कतिपय अवस्थामा गर्भवती अवस्थाका आमाहरु यही कच्याङ कुचुङ छिचोल्दै हप्तैपिच्छे प्रसुति गृह पुग्छन्, फर्किन्छन् । यस्तो मेजर ठाउँमा दुईतिरबाट सडक हडप्ने काम किन ? पचाउने ले त मूल सडकै पनि पचाउन सक्लान् । तर, हामी पैदल हिँड्नेलाई किन पचिरहेको छ, यो सब ? किन कसैलाई यो कुरा अलिकति पनि विझ्दैन । किन कसैलाई यो बाटो हिँड्न असज हुँदैन ? किन कोही प्रश्न गर्दैन ? सामान्य खेलाँचीको कुरा छैन, यो ।
यो दुई पल्ट सारिएको सेन्ट्रल विजेनस पार्कको गेट
हुन त सडकमा गाडी गुड्न रोकिएको छैन । पैदल हिँड्नेका खुट्टा खिइएका छैनन् । कसलाई के को मतलव ? तर, अब अति भो । त्यसो नगर्नोस् । यसले गरेन, उसले गर्न दिएन सब छोड्नोस् । एक पल्ट सरकारी मापदण्ड मिचेर स्थायी संरचनाका आलिशान महल खडा गर्नेकाविरुद्ध खडा हुनोस् । भन्नोस्, सडक पेटी वा फुटपाथ ५ मिटरसम्म कायम गरियोस् ।
प्रकरण प्रवेश
प्रकरण १
थापाथली चोकैमा, थुम्कोको कुमारी मन्दिरसँगै मापदण्ड पूरा नगरी एउटा आलीशान महल निर्माण भइरहेको छ । जुन भवन जग्गाधनी कांग्रेस नेता एवं प्रदेश सांसद राजीवविक्रम शाह आफैंले बनाएको भन्ने जानकारीमा आएको छ । जुन घर स्थायी प्रकृतिको पिलर सिस्टमले बनाइएको छ । त्यो, अन्य घरहरुजस्तो टहरा होइन । जसको वकायदा महानगरपालिकाबाट नक्सा पास छ ।
महानगरको ११ नम्बर वडामा पर्ने उक्त घर मापदण्ड अनुरुप नै निर्माण भइसकेको जिकिर गरिएको छ । तर, आडैको सेन्ट्रल विजनेस पार्क जाने गेट शाहले बनाएको घरभन्दा निकै भित्र छ । यसको अर्थ उनको घरले सडक मापदण्ड पालना गरेको छैन ठहर्छ । ११ नम्बर वडा कार्यालयले पुटपाथबाट ७ मिटर सेटव्याक छोडेर नक्सा पास गर्ने नियम अनुसार यो घरको नक्सा पास भएको जनाएको छ । तर, यो घर अरनिको राजमार्गमा पर्ने तथ्यहरु भेटिन्छन् । यो राष्ट्रिय राजमार्गको मापदण्ड धुलिखेलसम्म दायाँ-बायाँ २५-२५ मिटर भनिएको छ ।
तर, काठमाडौं उपत्यका विकास प्राधिकरणले जारी गरेको मापदण्ड २०६४ ले यो सडकलाई आर्टेरियल अर्थात् शाखा सडक भनेको छ । र, यो जालझेल धेरैलाई थाहा छैन । जसको फाइदा उठाउँदै यो क्षेत्रमा अहिले सडक छेवैमा धमाधम स्थायी संरचनाका व्यापारिक भवन बन्न थालेका छन् । त्यही मौका छोपेर सांसद शाहले समेत पुटपाथसँगै कम्पाउण्ड जोडिने गरी व्यावसायिक भवन निर्माण गरेका हुन् । उनको घरले एकातिर सडक मापदण्ड मिचेको छ भने अर्कोतिर काठमाडौंमा रहेका अष्टमातृकाभित्रै पर्ने कुमारी मन्दिरलाई समेत दख्खल दिएको छ । कुमारी मन्दिर अब अग्लो थुम्कोमा होइन, कसैको व्यक्तिगत एवं व्यवसायिक भवनको पर्खालमुनि पर्नेछ । पाँचतले घरले अब कुमारी मन्दिरलाई होंचो अस्तित्वहिन करार गर्दिएको छ ।
प्रकरण २
लामोसमय विवादमा परेपछि रोकिएको जेसिज भवन समेत सडक मापदण्ड मिचेर उभिएको बताइन्छ । सुनीता एण्ड कम्पनीले २४ वर्षका लागि भाडामा लिएर निर्माण सम्पन्न गर्न नसकेको उक्त व्यवसायिक भवन झन् सडक छेवैमा उभिएको छ । काठमाडौं महानगरले यो घरको नक्सापास पहिल्यै भएका कारण थप कुरा थाहा नभएको जवाफ दिए पनि यो भवन पहिले वा अहिले कुनै पनि बेलाका मापदण्ड पालना गरेर बनेको देखिँदैन । तथ्याङक कार्यालय छिर्ने बाटोसँगै बनेको राष्ट्रिय वाणिज्य बैंकको भवनले छोडेको मापदण्ड हेर्दा झन् जेसिज भनवन सडक कै डिलमा उभिएको ठहर्छ ।
नेपाल सरकारको एउटा मापदण्डले भनेको छ, सडक पेटी अर्थात् पुटपाथसमेत सडककै हिस्सा हो । त्यसको चौडाई न्यूनतम १ मिटर र अधिकतम ५ मिटरसम्म हुने भनिएको छ । जेसिज भवनले फुटपाथसँगै टाँसेर संरचना बनाएको छ । मापदण्ड मिचेका घरहरु भत्काउन थालिए जेसिज भवनमा समेत डोजर चल्ने पक्का छ । लामोसमय कर तिर्दिन भन्ने बखेडा गरेको यो भवन मापदण्ड विपरीत नक्सा बनाए कै कारण लामोसमय निर्माण हुन सकेको थिएन । तर, अहिले तलबाट हेर्दा टोपी खस्नेगरीको अग्लो बनाइएको छ । आसपासमा भएका घरहरु कोही पूराना र कोही अस्थायी प्रकृतिका छन् । तर, जेसिज भवन स्थायी प्रकृतिको गगनचुम्बी बनेको छ । जुन भवन सुनीता श्रेष्ठको कम्पनीले लिजमा लिएको अवधि समाप्त भएर अहिले जेसिजकै स्वामित्वमा रहेको छ ।
चुरो कुरो
व्यस्त तथा मूलबाटोमा आलीशान महल ठड्याउन, शक्तिकेन्द्रमा चलखेल गरेर माफियाहरुले अरनिको राजमार्गको शून्यविन्दु (जिरोकिलो) नै कहाँ हो ? भन्ने अन्योल सिर्जना गरिदिए । यसअघिका केही दस्तावेज र अदालतमा पुगेका विवादले यसको जिरोकिलो त्रिपुरेश्वरको त्रिभुवन शालिक हो भन्ने ठहर्छ । जसको तथ्य सरकारी कागजातमा भएको कुल लम्बाई ११४ किलोमिटरसँग मेल खान्छ ।
तर, पछिल्लो समय त्यसको जिरोकिलो कसैले माइतीघर मण्डलालाई भन्ने गरेका छन् भने केहीले त तीनकुनेको चौरभन्दा माथि लगिसकेका छन् । गुगल म्यापले त चक्रपथ बाहिर अर्थात् कोटेश्वरको ट्राफिक कार्यालयछेउबाट अरनिको राजमार्ग सुरु हुने तथ्यहरु राख्न भ्याएको छ । अरनिको यातायातको बसपार्कसमेत सर्दै-सर्दै मनोहरा खोलाको छेउ जडिबुटी पुगिसकेको छ । सडक विभागका विभागीय प्रमुख नै त्रिपुरेश्वरदेखि माइतीघरसम्मको सडकको नाम के ? भन्दा स्पष्ट जवाफ दिन सक्दैनन् । सडक विभागबाट अरनिको राजमार्ग हेर्ने एक जना अभियन्त्रक अर्थात् ईन्जिनियर उपेन्द्र महराले अरनिको राजमार्ग अर्थात् (काठमाडौं-कोदारीको) शून्यविन्दु माइतीघर हो भने । सडक विभाग कै सम्भार महाशाखामा भेटिएको एउटा कागजातले तीनकुने चौरबाट अरनिको सुरु हुनेसम्म बतायो र पछिल्लो लम्बाई ११२.८३ किलोमिटर भन्यो । कतै ११३ किलोमिटर पनि भनियो ।
वास्तविक भन्ने हो भने, सडक विभागमा पूराना कागजातहरु छैनन् । विभागले निकाल्ने डायरीमा उल्लेख भएका विवरण संकलन गरेर आईटी महाशाखाले फाट्फुट कागजात संग्रह गरेको छ । आईटी महाशाखाका केशव ओझाले भने, ‘हामी नयाँ कर्मचारी हौँ । हामी आउँदा त भद्रगोल नै थियो । यत्तिको विवरण पनि मैले सडक विभागले प्रकाशित गरेका डायरीहरु पल्टाएर संकलन गरेको हुँ । संविधान जारी भएपनि राष्ट्रिय राजमार्गमा ८० वटा सडक सूचीकृत छन् । विभागले राष्ट्रिय राजमार्ग मात्रै हेर्ने हो । त्यसैले सहायक मार्ग र शाखा सडकबारे हामीलाई जानकारी नै हुन छाड्यो ।’
राष्ट्रिय विभूतिका नामबाट नामाकरण गरिएका सडकलाई बिचबीचमा टुक्राई नेताका नाम राख्ने चलन बढेसँगै माफियाले दाउ हानेको देखिन्छ । त्रिपुरेश्वरबाट थापाथली पुलतिर जाने सडकलाई त्रिुपुरा मार्ग भनिएको छ, भने थापाथलीबाट माइतीघर, बबरमहलतिर आउने बाटोलाई मदनभण्डारी मार्ग भनिएको छ । यो अनेकथरीले पनि अरनिको राजमार्गको शून्यविन्दु त्रिपुरेश्वर भएको तथ्य लुकाउन भू-माफियाले ठूलो चलखेल गरेको पुष्टि हुन्छ । र, त्यसको फड्के साक्षी बन्दै काठमाडौं महानगर धमाधम नक्सा पास गरिरहेको छ ।
One thought on “थापाथली चोकको सडक क्षेत्रमा पर्ने जग्गामा धमाधम भवन ठडिँदै, महानगरपालिकाबाटै ‘नक्सा पास’”