आजदेखि जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा सुरु
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ता (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालन आजदेखि सुरु गरेको छ । बीमा ऐन, २०७९ मा ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था भए बमोजिम प्राधिकरणले पहिलो पटक जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा शुरू गरेको हो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा संचालनको शुभारम्भ गरेका छन् । कार्यकारी निर्देशक राजुरमण पौडेलसहित अध्यक्ष सिलवालले बीमा अभिकर्ताको परीक्षाको औपचारिक रुपमा शुभारम्भ गरेको प्राधिकरणले जनाएको छ ।
अध्यक्ष सिलवालले परीक्षामा सफल भई इजाजतपत्र पाउने बीमा अभिकर्ताहरूले गर्ने व्यवसायबाट बीमा सम्बन्धी सही सूचना प्रवाह हुने र हाल बीमा बजारमा देखिएको बीमालेख व्यतित तथा सरेण्डरको समस्या समाधानमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । प्राधिकरणको केन्द्रीय कार्यालयबाट आज पहिलो दिन संचालित जीवन बीमा अभिकर्ता अनलाइन परीक्षामा देशका विभिन्न स्थानबाट ४७ जना परीक्षार्थीहरू अनलाइन माध्यमबाट सहभागी भएको प्राधिकरणले जनाएको छ ।
अनलाइन परीक्षा संचालनको शुभारम्भ कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल उपस्थित थिए । जीवन बीमा अभिकर्ताका लागि हाललाई एकपटकमा १०० जनासम्मले अनलाइन माध्यमबाट परीक्षा दिनसक्ने व्यवस्था गरिएको छ ।
परीक्षा संचालन भएको मितिले ७ दिनभित्र जीवन बीमा अभिकर्ताको परीक्षाफल प्रकाशन गरिनेछ । जीवन बीमा अभिकर्ताको अर्को परीक्षा यही कात्तिक २०, २२ र २४ गतेका लागि तोकिएको छ । इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फर्मेशन सेन्टर (आईआरएमआईएस) मार्फत् बीमा अभिकर्ताको परीक्षाका लागि आवेदन दिने, एजेन्ट एक्जाम सिष्टमबाट आवेदन शुल्क बुझाउने, परीक्षा मिति चयन गर्ने तथा परीक्षा उत्तीर्ण हुनेले इजाजतपत्र शुल्क बुझाउने र आईआरएमआईएसबाट नै बीमा अभिकर्ताको इजाजतपत्र अनलाइन मार्फत प्रिन्ट गरेर लिन सकिने व्यवस्था प्राधिकरणले गरेको छ ।