आइजीआई प्रुडेन्सियल र नीलकण्ठ नगरपालिकाबीच निर्जीवन बीमा सेवा सम्झौता
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड कम्पनी र धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकाबीच नगरवासीको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा कम्पनीका मुख्य प्रबन्धक शिव प्रसाद लामिछाने नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात नगरपालिकामा रहेका सम्पूर्ण कृषकहरुले आफ्नो पशुपन्छी तथा बालिनालीको बीमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबाट गर्न सक्नेछन् ।
सोही कार्यक्रममा सुवेदीले नगरवासी कृषकहरुको पशुपन्छी, बालिनालीको बीमापश्चात् बीमा गरिएको कुनै पनि सम्पत्तिको हानी नोक्सानी भएमा सोको क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले कम्पनीसँग सम्झौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरुले आफ्नो सम्पत्तीको बीमा गरी ढुक्क भएर लगानी गरी उत्पादन बढाउन अनुरोध गरेका थिए । साथै, उनले यस कार्यमा नगरपालिकाले अभिभावकको रुपमा रहेर नगरवासीहरुलाई सेवा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । ।
आइजीआई प्रुडेन्सियल र नीलकण्ठ नगरपालिकाले नगरवासी लगायत नगरभित्र रहेका कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसँग बीमा गरेका नगरवासीलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।