हेटौडा पुगेर स्वास्थ्य मन्त्री बस्नेतले भने, ‘उपचार अभावमा कसैले ज्यान गुमाउनु पर्दैन’

२० आश्विन २०८०, शनिबार १५:४६

हेटौंडा । नेपाल सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले अब नागरिकहरुले उपचार नपाएर ज्यान गुमाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको दावी गरेका छन् । आज हेटौडामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले भने, ‘सरकारले देशैभरका अस्पतालहरुमा १० प्रतिशत निःशुल्क उपचारको निर्णय कार्यान्वयन भइरहेको छ, उक्त सुविधा अनुसार देशका गरिब, विपन्न नागरिकको उपचार सरकारी खर्चमा नै भइरहेको छ ।’

मन्त्री बस्नेतले वर्तमान सरकारले स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित हुने गरी रणनीति लिएकोले अब आर्थिक अवस्थाकै कारण स्वास्थ्य उपचारको सेवाबाट बञ्चित हुनुपर्ने बाध्यताको अन्त्य भएको उनले दावी गरेका छन् । उनले वर्तमान सरकारले जनताको स्वास्थ्य उपचारलाई राज्यको जिम्मेवारीभित्र राखेर गरिब र न्यून आय भएका जनता उपचार नपाएर मर्ने अवस्थाको अन्त्य गरेर ऐतिहासिक निर्णय गरेको बताए ।

आज हेटौंडामा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बस्नेतले देशैभरका अस्पतालहरुमा १० प्रतिशत निःशुल्क उपचारको निर्णय कार्यान्वयन भइरहेको बताउँदै उक्त सुविधा लिन नसकेका विपन्न नागरिकको उपचार सरकारले गर्ने बताए । उनले विपन्नको उपचारको जिम्मा आफुले लिएको दावी गरे ।

‘हामीले सरकारी तथा प्राइभेट स्वास्थ्य संस्थाहरुलाई जनताको स्वास्थ्य उपचारको लागि सहज र सुलभ सेवा प्रवाह गर्न निर्देशन दिएका छौँ ।’ मन्त्री बस्नेतले भने ।

मन्त्री बस्नेतले चिकित्सा शिक्षा क्षेत्रको समस्या समाधानका लागि चिकित्सा शिक्षा ऐन संशोधन गरेर अघि बढ्ने तयारी भइरहेको समेत उल्लेख गरे । स्वास्थ्य क्षेत्रको सुधारका लागि नीतिगत सुधारसँगै कार्यान्वयनमा पनि सरकारले जोड दिएको उनको भनाई छ ।
मन्त्री बस्नेतले चिकित्सकमाथि आक्रमणको घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउने काममा सरकार प्रतिबद्ध रहेको बताउँदै चिकित्सकमाथि हातपात गर्नेलाई कुनै पनि हालतमा नछोड्ने प्रतिबद्धता जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*