कोरोनाले जन्मायो ‘पोसिलो’ : मौलिक उत्पादन, आधुनिक प्रर्वद्धन
काठमाडौं । भृकुटीमण्डमा तीन दिने ‘जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२३’ चलिरहेको छ । खाद्य, पेय पदार्थ र आतिथ्यमा केन्द्रित व्यापार मेलामा प्रदर्शनी हलको पश्चिमपट्टीको ढोका छेउमा छ, पोसिलो फुडको स्टल ।
शुद्ध नेपाली नाम ‘पोसिलो’को, प्रडक्ट पनि शुद्ध नेपाली नै । त्यो पनि उच्च पहाडी क्षेत्रमा फलेको अन्नबाट बनेको चार थरी ‘सातु’ । विशुद्ध अर्ग्यानिक ‘पोसिलो’ सातुको प्रवद्र्धन गर्न आफैं बसेका छन्, पोसिलोका ब्रेनचाइल्ड अर्थात् संस्थापक पृथ्वीकल्याण पराजुली । पृथ्वी आफैं पोसिलोका म्यानेजिङ डाइरेक्टर हुन् ।
पोसिलोका प्रवद्र्धकहरुले स्टल अवलोकन गर्न आउनेहरुलाई सातु घोलेर कपमा पिउन लगाइहाल्छन् । साथै उनीहरु प्रडक्टका विशेषता र गुणस्तरबारे निर्धक्क बताउँछन् । पोसिलोले उमेर समूह अनुसार म्याच हुने गरी मल्टिग्रेन, प्रोटिनप्लस, न्युट्रिडिलाइट र न्युट्रिप्लस गरी चार थरी सातु उत्पादन गरिरहेको छ । ब्राण्डिङ र विक्रिका लागि सामाजिक सञ्चालदेखि इ-कमर्श दराजलाई उपयोग गरिरहेको छ ।
जुम्लाको दाल र मुस्ताङको कोदो समावेश गरेर १२–१३ वटा थोक मिसाएर बनाइएको ‘सातु’ खेलाडी र फिटनेश इन्टस्ट्रीमा खुब रुचाएको बताउँछन्, म्यानेजिङ डाइरेक्टर पराजुली । नेपाली मौलिक उत्पादनलाई प्रवद्र्धन गर्न पनि आफुले न्युट्रेशनलाई रोजेको त्यसमा पनि ग्रामीण भेगमा उत्पादन हुने खाद्य बालीहरुलाई प्रवद्र्धन गर्ने काम गरिरहेको उनले बताए ।
२५ वर्षे ठिटो सातु प्रेमी ?
कास्कीको पोखरामा जन्मिएका पराजुली उमेरले बल्ल २५ वर्ष लागे । बीबीए सक्नासाथ कोरोना महामारी आयो । सन् २०२० र २०२१ को कोरोना कालमा न्युट्रेशनकै बारेमा धेरै चर्चा भएको र मानिसहरुले त्यसलाई बढी फोकस गरेको देखे । र, त्यो बेला अन्य सबैथरी व्यवसाय बन्द भए पनि खाद्य आपूर्ति सम्बन्धी व्यवसायहरु बन्द भएनन् । यो सब नजिकबाट नियालीरहेका पृथ्वीले आफ्नो रुचिको विषय न्युट्रेशनको खोज अनुसन्धान थाले ।
कोरोनाकालभरी सुरक्षित स्थानमै रहेर अध्ययन गरे भने कोरोना महामारी सामान्यउन्मुख भएपछि उनले देशका विभिन्न स्थानमा आफैं गई फुड टेष्ट गरेर रिसर्च गरे । सन् २०२१ मा उनले फुड सम्बन्धी काम गर्ने निधो गरेर कम्पनी दर्ता गरे । त्यसको वर्ष दिन मै उनले तीन थरी सातु उत्पादन थाले । तीन थरी सातु उत्पादन गरेको २ महिनाको अन्तरालमै उनले अर्को प्रडक्ट थपे ।
आफु पहिल्यैदेखि अग्र्यानिक खाद्य वस्तु मन पराउने भएका कारण सातु नै बनाएर बेच्ने सुर कसेको उनले बताए । उनले पोखरा महानगर १८ मा यसको फ्याक्ट्रि राखेका छन् भने ललितपुरको झम्सिखेलमा कम्पनीको कर्पोरेट कार्यालय राखेका छन् । ६ स्थानमा उनले वितरक राखिसकेका छन् ।
५ लाखबाट उत्पादन तथा वितरण सुरु गरेका पराजुलीले अहिले २ करोडको पूँजी निर्माण गरिसकेका छन् । विजनेश पढेको भएकै कारण उनी आर्थिक व्यवस्थापनको पाटोमा पनि उत्तिकै स्मार्ट छन् । उनले व्यवसायको बीमा गराएका छन् भने स्थानीय तथा प्रदेश सरकारसँग पनि यसबारे समन्वय गरिरहेका छन् । ९ औँ राष्ट्रिय खेलकूदमा पोसिलोले नयाँ उचाई पाएको र गण्डकी प्रदेशले पोसिलोलाई अहिलेसम्म माया गरिरहेको पराजुली अहिले पनि सम्झिन्छन् । ९औँ राष्ट्रिय खेलकूदमा खेलाडी र व्यवस्थापक दुबैले पोसिलोको सातु खुब खाए । अहिले पनि त्यो क्रेज उत्तिकै छ ।
कसरी छानियो ‘पोसिलो’ नाम ?
कम्पनीको नाम के राख्ने भनेर खोज्दै जाँदा, पराजुलीले झण्डै २०० वटा नाम नोट गरे होलान् । त्यो दुई सयबाट उपयुक्त नाम छान्न सकेनन् । २०० मध्ये कुनै पनि नाम उनलाई चित्त बुझेन ।v नामकै खोजीमा उनी घरी सोसल मिडिया चहार्छन्, घरी किताब र डिक्स्नेरी ।
एक दिन उनी खाद्य सम्बन्धको एउटा आर्टिकल पढ्दै जाँदा ‘पोसिलो’ शब्दमा नजर अड्कियो । उनले आर्थिकल पुरै पढे तर, मात्र ‘पोसिलो’लाई त्यसबाट झिके । अहिले त्यसैबाट बजारमा विकिरहेका छन्, उनी । कोरोनाले पृथ्वीलाई ‘पोसिलो’को मालिक बनाइदियो ।