बीमा प्राधिकरणले सुपमा प्रदेशस्तरीय निबन्ध प्रतियोगिता गर्दै, उत्कृष्टलाई नगद पुरस्कार

१९ आश्विन २०८०, शुक्रबार १३:५२

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सचेतना तथा बीमा प्रवद्र्धनका लागि सुदूरपश्चिम प्रदेश स्तरीय निबन्ध प्रतियोगिता गर्ने भएको छ । नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालयले तीन वटा शीर्षकमा निबन्ध प्रतियोगिता गर्न लागेको हो ।

कक्षा ११ देखि स्नातक तहसम्म अध्ययनरत विद्यार्थीले प्रतियोगितामा भाग लिन सक्ने छन् । उनीहरुले आर्थिक विकासमा बीमाको महत्व, बीमाको विकासमा सूचना प्रविधिको भूमिका र बीमाको विकास तथा विस्तारमा बीमा सचेतनाको महत्व शीर्षक मध्ये कुनै एक शीर्षकमा नियमपूर्वक निबन्ध लेखेर प्राधिकरणको प्रदेश कार्यालयमा पठाउनु पर्ने छ ।

प्रतियोगीको अध्ययनरत शैक्षिक संस्थाको ठेगानाको आधारमा प्रदेश निर्धारण गरिने प्राधिकरणले जनाएको छ । सुदूरपश्चिम स्थायी घरभई हाल काठमाडौमा अध्ययनरत विद्यार्थीले बाग्मती प्रदेशबाट प्रतियोगी हुन पाउने छन् ।
प्राधिकरणका अनुसार लेखनको भाषा नेपाली वा अंग्रेजी मध्ये कुनै एक हुनु पर्नेछ । नेपाली भाषा भए प्रिती १६ फन्ट साइज र अंग्रेजी भाषा भए टाइम्स न्यू रोमन १२ फन्ट साइजमा हुनु पर्नेछ ।

निबन्ध बढीमा १५०० शब्दको हुनु पर्नेछ । प्रतियोगिताको सूचना प्रकाशन भएको मितिले २५ दिन भित्र निबन्ध उपलब्ध गराउनु पर्ने प्राधिकरणले स्पष्ट पारेको छ । पेश हुन आउने निबन्ध आफ्नै मौलिक श्रृजना हुनु पर्ने र यसअघि अन्य कुनै पत्रपत्रिकामा प्रकाशित नभएको हुनु पर्ने नियम बीमा प्राधिकरणले राखेको छ ।

निबन्ध पेश गर्दा प्रतियोगिको हालसालै खिचिएको पासपोर्ट साइजको फोटो र अध्ययन गरिरहेको संस्थामा परिचय खुल्ने कार्ड, संस्थाको पत्र पनि संलग्न गरी पठाउनु पर्नेछ । अन्यथा उक्त निबन्धलाई प्रतियोगितामा समावेश नगरिने प्राधिकरणले जनाएको छ ।

पेश हुन आएको निवन्धलाई विषय विज्ञबाट मूल्यांकन गराइने प्राधिकरणले जनाएको छ । प्रत्येक प्रदेशबाट एक सर्वोत्कृष्ट रचनालाई पुरस्कार स्वरुप १० हजार र प्रमाणपत्र प्रदान गरिने तथा छनोट भएको निबन्ध प्राधिकरणको केन्द्रीय कार्यालयबाट प्रकाशन हुने बुलेटिनमा समावेश गरिने प्राधिकरणले बताइएको छ ।

निबन्ध पठाउने नियम र ठेगाना थाहा पाउन सूचना हेर्नुहोस्

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*