सरकारी खाता १० अर्बले ऋणात्मक, कर्मचारीलाई दशैं पेस्की दिइए निर्माण व्यवसायी ‘चिल्लै’

१९ आश्विन २०८०, शुक्रबार १२:३३

काठमाडौं। सरकारी खाता ऋणात्मक हुँदै गएपछि सरकार थप आर्थिक जटिलतामा फसेको छ । अहिले सरकारी खाता १० अर्ब रुपैयाँभन्दा बढीले ऋणात्मक हुन गएको छ । यस आर्थिक वर्षमा हालसम्म सरकारले १ खर्ब ९२ अर्ब रुपैयाँ कुल प्राप्‍ति गरेको छ। यो कुल लक्ष्यको १३.०५ प्रतिशत मात्रै हो।

जसमा राजस्वको हिस्सा १ खर्ब ७७ अर्ब रुपैयाँ छ । यस्तै, कर राजस्व १ खर्ब ६३ अर्ब र गैरकर राजस्वबापत सरकारले १६ अर्ब रुपैयाँ आम्दानी गरेको छ। अन्य शीर्षकतर्फ सरकारले जम्मा १४ अर्ब ४३ करोड रुपैयाँ संकलन गर्न सकेको छ ।

अनुदान शीर्षकतर्फ सरकारले कुनै पनि किसिमको आम्दानी वा लाभ लिन सकेको छैन । यो आर्थिक वर्षमा सरकारले ४९ अर्ब ९४ करोड रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेको छ । लक्ष्य अनुसारको आम्दानी गर्न नसकेको सरकारले २ खर्ब रुपैयाँभन्दा बढी खर्चिइसकेको छ। चालुतर्फ १ खर्ब ५३ अर्ब रुपैयाँ खर्चिँदा सरकारले पूजीँगतर्फ जम्माजम्मि ११ अर्ब खर्चिएको छ । चालु खर्च लक्ष्यको १२.८ प्रतिशत हुँदा पूँजीगत खर्च लक्ष्यको जम्मा ३.७ प्रतिशत मात्रै हो ।

सरकारले वित्तीय व्यवस्थापनतर्फ ३७ अर्ब रुपैयाँ खर्च गरेको छ । जुन कुल लक्ष्यको १२.१७ प्रतिशत हो। अर्थ मन्त्रालयका अनुसार सरकारी कर्मचारीलाई दशैं भत्तासहित तलब निकासा गर्नु पर्ने भएकाले खाता ऋणात्मक बन्दै गएको हो।

पहिलो त्रैमास आम्दानीभन्दा खर्च धेरै हुने समय भएकाले सरकार अप्ठेरोमा परिसकेको भन्न नमिल्ने अर्थ मन्त्रालयका अधिकारीहरुको भनाइ छ । मन्त्रालयका सहसचिव धनिराम शर्मा भन्छन्, ‘हामीले पोहोर कै हाराहारीमा राजस्व उठाएका छौँ । लक्ष्य अनुसार संकलन नभएको चाँहि साँचो हो । दोस्रो त्रैमासदेखि राजस्व लगायत अन्य आम्दानी लक्ष्य अनुसार नै हुने हाम्रो विश्‍वास छ ।’

अर्थ मन्त्रालयका अधिकारीहरुले गत आर्थिक वर्षकै हाराहारी राजस्व संकलन भएको भनेर सन्तोष मानिरहेका बेला सरकार निर्माण व्यवसायीको भुक्तानी दिन सकिरहेको छैन । ढुकुटी रित्तिएको भन्दै सरकार भुक्तानी दिन अक्षम भइरहेको छ । यो कुरा निजी क्षेत्रले खुलेआम भनिरहेको छ । राष्ट्र बैंकले शेयर धितो कर्जा, घरजग्गा र अटो कर्जामा केही लचकता अपनाएको छनक दिएकै दिन निजी क्षेत्रले पुनर्कर्जा र सरकारी भुक्तानीको शीघ्र समस्या सुधार गर्न भनिसकेको छ ।

यस्तै, नेपाल निर्माण व्यवसायी महासंघले बिहीबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर काम गरेको रकम तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । जवाफमा प्रधानमन्त्रीले दशैंअघि नै भुक्तानी दिने आश्वासन दिएका छन् । र, त्यसरी भुक्तानी दिनका लागि सरकारी खातामा पैसा छैन, ढुकुटी रित्तिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*