साउदीको दमाम उडेको प्लेन फर्काइएको घटनामा मर्मत गर्नेको जागिर निलम्बन
काठमाडौं । काठमाडौंबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सलाई पाकिस्तानबाट फर्काइएको घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाज मेन्टिनेन्सका दुई कर्मचारीलाई कारबाही गरेको छ।
उड्डयन प्राधिकरणले जहाजको मर्मतमा संलग्न नेपाल एयरलाइन्स कै दुई व्यवस्थापकलाई तत्कालका लागि सेवाबाट निलम्बन गरिएको प्रवक्ता जगन्नाथ निरौलाले बीमापोष्टलाई जानकारी दिए। उनले भने, ‘कारबाहीमा पर्नेको नाम बताउन मिल्दैन । तल ग्राउण्डका मान्छेहरु हुन् । मेन्टिनेन्समा संलग्नहरु । जे भए पनि ति नेपाल वायु सेवा निगमका कर्मचारी हुन् ।’
बुधबार राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको नेपाल वायुसेवा निगमको आरए ४१२ जहाज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौं अवतरण गरेको थियो।
जहाज पाकिस्तानको आकाशमा पुगेपछि ‘टिकास’मा समस्या देखिएसँगै काले पुनः काठमाडौं फर्काइएको थियो। जहाजमा उडानका क्रममा अन्य जहाज नजिक आएको संकेत टिकासले दिने गर्छ । त्यही टिकासले राम्ररी काम नगरेपछि अन्य जहाजसँग ठोक्किने डरले चालकले काठमाडौं फर्काएका थिए ।
जहाज चेकजाँच गरी उडानको लागि योग्य रहेको सिफारिस दिने ड्युटी इन्जिनियर र नेवाल वायु सेवा निगमको एयरवर्दिनेस विभागका म्यानेजर निलम्बनमा परेका हुन् । प्रवक्ता निरौलाका अनुसार जहाज उड्नुअगाडि सम्पूर्ण पाटपूर्जा ठिक छ भनेर मर्मतमा रहेका व्यवस्थापकहरूले हस्ताक्षर गगरेका हुन्छन् ।
‘उनीहरूले ठिक छ भनेर उडेको जहाज बीचबाटै फर्किएपछि उहाँहरूलाई केही समयका लागि निलम्बन गरी स्पष्टीकरण सोधेका छौं,’ उनले भने। बाँकी कारबाही प्रक्रियाबारे उनीहरूले स्पष्टिकरण बुझाएपछि निर्णय हुने प्रवक्ता निरौलाले बताए।