कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समतिले बल्ल थाल्यो काम

१८ आश्विन २०८०, बिहीबार १६:१७

काठमाडौं। सरकारले बजेटमार्फत घोषणा गरेको कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले बल्ल काम थालनी गरेको छ । सुझाव समितिले गठनको तीन सातापछि बल्ल काम थालेको हो । आन्तरिक राजस्व विभागमा कार्यालय राखिएपछि समितिले बुधबारबाट काम थालेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले भदौ २९ गते पूर्वमन्त्री एवं अर्थसचिव रहिसकेका विद्याधर मल्लिकको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत कर प्रणाली सुधारका लागि सुझाव दिन उच्चस्तरीय समिति गठनको घोषणा गरेको थियो।

यो समितिमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक राम प्रसाद ज्ञवाली, अर्थ मन्त्रालय र अन्तगर्तका कार्यालयमा लामो समय काम गरेका पूर्व सचिव लक्ष्मण अर्याल, भन्सार विज्ञको रुपमा एशियाली विकास बैंक र विश्व बैंकमा काम गरेका पूर्व उपसचिव श्याम दाहाल सदस्य छन् ।

उच्चस्तरीय समितिको सचिवालयको रुपमा अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले सहयोग गरिरहेको छ । समितिलाई नेपालको समग्र कर प्रणाली सुधारका लागि सरकारले गर्नु पर्ने काम कारबाहीको विषयमा सुझाव दिने जिम्मेवारी दिइएको छ।

समितिका संयोजक रहेका मल्लिक नेपालको कर प्रणालीको विषय विज्ञ मानिन्छन् । २०५८ सालमा आयकर ऐन बनाउने क्रममा विभागको महानिर्देशकको रुपमा मल्लिकले नेतृत्वदायी भूमिका खेलेका थिए ।

मल्लीकलाई नेपालको कर प्रणालीको विषयको विषयमा जानकार र स्वच्छ छबीका प्रशासकको रुपमा लिइन्छ । २०७० सालमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारमा मल्लिक स्वास्थ्य तथा जनसख्यां मन्त्री थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*