इन्जिनियरिङको शुल्क विवादले लियो उग्ररूप, पुल्चोक क्याम्पसका परीक्षा बोर्ड पदाधिकारीले दिए सामूहिक राजीनामा

१७ आश्विन २०८०, बुधबार १३:४१

काठमाडौं । इन्जिनियरिङ शिक्षाको शुल्क विवादले उग्ररूप लिएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसको शुल्क विवाद प्रवेश परीक्षा बोर्ड पदाधिकारीहरुको सामूहिक राजीनामासम्म पुगेको छ । यसै प्रकरणमा प्रवेश परीक्षा बोर्डका सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्नातक तहमा नयाँ भर्नाका लागि बुधबार, बिहीबार र शुक्रबार फारम वितरण हुँदा असोज २२ गतेबाट प्रवेश परीक्षाको मिति तोकिएको थियो । यस मितिमा फारम भर्न र प्रवेश परीक्षा गराउन नसकिने भन्दै बोर्डका अध्यक्षसहित सदस्यहरूले सामूहिक राजीनामा दिएका हुन् । परीक्षा बोर्डका अध्यक्ष सुशीलबहादुर बज्राचार्य, सदस्य इन्द्रप्रसाद आचार्य, सदस्य सञ्जीवप्रसाद पाण्डे, सदस्य किरणचन्द्र दाहालले त्रिभुवन विश्वविद्यालय इन्जिनियररिङ अध्ययन संस्थानका डीनलाई संयुक्त राजीनामा बुझाएका छन् ।

परीक्षा बोर्डका सदस्य सचिव विदुर ढकाल, सल्लाहकारद्वय सुरज लामिछाने र हिक्मतराज जोशीले पनि राजीनामा दिएका छन् । सोमबार मात्रै संस्थानका पदाधिकारी र विद्यार्थी संगठनबीच राति ११ बजे शुल्क वृद्धि नगर्ने र यही असोज २२ गते स्नातक तह (बिई, बिआर्क)को प्रवेश परीक्षा सञ्चालन गर्ने सहमति भएको थियो ।

तर, त्यो दुई बुँदे सहमतिको मसी सुक्न नपाउँदै प्रवेश परीक्षा बोर्ड र परीक्षा बोर्डका पदाधिकारीहरुले राजीनामा दिएका हुन् । डिनले दवावमा आएर सहमति गरेको भन्दै उतिबेलै अन्य पदाधिकारीहरुले २२ असोजमा प्रवेश परीक्षा गर्न नसकिने भन्दै सहमति अस्वीकार गरेका थिए ।

सोमबार मध्यरातमा भएको दुई बुँदे सहमतिपत्रमा संस्थानका तर्फबाट डिन प्राध्यापक डाक्टर शशीधर जोशी र सहायक डीन प्राध्यापक सुशील बज्राचार्यले हस्ताक्षर गरेका थिए । र, विद्यार्थी संगठनतर्फ नेविसंघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियुलगायत विद्यार्थीका ११ जना नेताले हस्ताक्षर गरेका छन् ।

पुरानै शुल्कमा नयाँ भर्ना गर्ने र नयाँ भर्नाका लागि प्रवेश परीक्षामा सहभागी हुन चाहनेले १८ गतेसम्म आवेदन दिनसक्ने गरी म्याद थप्ने र असोज २२ मा प्रवेश परीक्षा सञ्चालन गर्ने सहमति भएको थियो । जुन आधिकारिक लेटरहेडमा भएको थिएन, सादा कागजमा गरिएको थियो । सहमति पछि डीनको कार्यालयबाट लेटरहेडमा प्रवेश परीक्षा सम्बन्धी सूचना टाँस गरिएको थियो ।

तर, अर्का सहायक डीनले आफुहरुलाई विद्यार्थी संगठनले हैरान कटाएको भन्दै जिम्मेवारीबाट मुक्त हुने चेतावनी दिएका थिए । इन्जिनियरिङ अध्ययन संस्थानले अध्ययन शुल्क सात लाख ७५ हजार रुपैयाँ बनाउने निर्णय गरेको थियो । हाल तीन लाख १८ हजार रुपैयाँ शुल्क छ । संस्थानले वार्षिक १५ करोड घाटामा रहेको भन्दै शुल्क बढाउने निर्णय गरेकामा विद्यार्थीहरु विरोधमा उत्रिएका थिए ।

विद्यार्थीको आन्दोलनपछि पुल्चोक क्याम्पसका विभिन्न ६ विभागीय प्रमुखले आफुहरुको जिम्मेवारी स्ववियुलाई हस्तान्तरण गर्न चाहेको व्यहोराको संयुक्त चिठी क्याम्पस प्रमुखलाई बुझाएका थिए । जसमा प्राध्यापक संघ र कर्मचारी संघले समेत समर्थन जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*