१३ जीवन बीमा कम्पनीमा ५७ अर्ब चुक्ता पूँजी, मर्जरपछि ३० प्रतिशतले बृद्धि (तथ्यांकसहित)

१६ आश्विन २०८०, मंगलवार १८:३२

काठमाडौं । नेपालमा सञ्चालन रहेका जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी ५७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । नेपाल बीमा प्राधिकरणले अघि बढाएको पूँजी बृद्धि योजनाबाट जीवन बीमा क्षेत्रमा करिब ३० प्रतिशत चुक्ता पूँजी बृद्धि भएको तथ्यांकले देखाएको छ ।

ठूलो पुँजी भएमा सेवाको लागत कम भई बीमाको पहूँच विस्तार गर्न, ठूलो पुँजी कायम गरी कम्पनीहरुबीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न कम्पनीहरुको पुँजी वृद्धि गर्नुपर्ने आवश्यकता रहेको प्राधिकरणको भनाई छ ।

प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुराउन निर्देशन दिएको छ ।

साथै, विदेशी बीमकको रुपमा दर्ता भई संचालनमा रहेको कम्पनीले पनि बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पुँजी बराबरको निर्धारित पुँजी कायम गर्नुपर्ने प्राधिकरणको भनाई छ ।

 

चुक्ता पूँजी अनुसार सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानको चुक्ता पूँजी सबैभन्दा बढी प्रतिशतले बृद्धि भएको छ । कम्पनीको चुक्ता पूँजी १०१८ प्रतिशतले बृद्धि भई दुुई अर्ब दुई करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको चुक्ता पूँजी १८ करोड रुपैयाँमात्र रहेको थियो ।

यसका साथै, भर्खरै मात्र साधारण शेयर (आइपीओ) निष्काशन गरेको आइएमई लाइफको चुक्ता पूँजी १८५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको चुक्ता पूँजी एक अर्व ४० करोड रुपैयाँबाट बृद्धि भई चार अर्ब रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा रिलायबल नेपाल लाइफको चुक्ता पूँजी एक सय ८५ प्रतिशतले बृद्धि भई चार अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, सिटिजन लाइफको ११४ प्रतिशतले बृद्धि भई एक अर्ब ७५ करोड रुपैयाँबाट तीन अर्ब ७५ करोड रुपैयाँ रहेको छ।गत असार मसान्तसम्ममा प्रभु महालक्ष्मी लाइफको चुक्ता पूँजी २६ प्रतिशतले बृद्धि भई चार अर्ब २९ करोड रुपैयाँ, एशियन लाइफको २४ प्रतिशतले बृद्धि भई तीन अर्ब १५ करोड रुपैयाँ, नेशनल लाइफको पनि २४ प्रतिशतले बृद्धि भएर पाँच अर्ब रुपैयाँ रहेको छ ।

हिमालयन लाइफको चुक्ता पूँजी १४ प्रतिशतले बृद्धि भएर आठ अर्ब दुई करोठ रुपैयाँ, सानिमा रिलायन्स लाइफको चार अर्ब १८ करोड रुपैयाँ, नेपाल लाइफको आठ अर्ब २० करोड रुपैयाँ, एलआईसी नेपालको दुई अर्ब ६५ करोड रुपैयाँ र सन नेपाल लाइफको दुई अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा सूर्यज्योति लाइफको चुक्ता पूँजी मात्र घटेको छ । स्वाप रेसियो समान नहुदा कम्पनीको चुक्ता पूँजी आठ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीको चुक्ता पूँजी चार अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४३ अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*