‘भद्रगोल विमानस्थल श्रृंखला २’ : गैरकानूनी रुपमा त्रिभुवन विमानस्थलभित्र स्टार फोर्सका सेक्युरिटी गार्ड

१४ आश्विन २०८०, आईतवार १३:११

काठमाडौं । देशको मूख्य र सामरिक महत्व अनि नेपाली सेनाको एक मात्र हवाइअड्डा समेत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राज्य भन्दाबाहेकका गैरकानूनी व्यक्तिहरुको खुला पहुँच जहाजको ढोकादेखि आगमन र भन्सारको गोदामसम्म छ भन्दा आश्चर्य लाग्न सक्छ ।

राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय तस्करहरुको जालो तोड्न संसारका कुनै पनि विमानस्थलभित्र गैर राज्यपक्षको उपस्थिति हुँदैन । अध्यागमनदेखि जहाजको ढोकासम्मको क्षेत्रलाई अन्तर्राष्ट्रिय सीमाको रुपमा समेत परिभाषित गरिन्छ । यस्तो अन्तन्त्यै संवेदनशील क्षेत्रमा विमानस्थल भन्सार कार्यालयले निजी सुरक्षा गार्ड भाडामा लिएर राज्य कै निकायबाट गैरकानूनी कार्य गरिरहेको तथ्य बीमापोष्टले फेला पारेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वागत गेटदेखि हवाइजहाजको ढोकासम्म गैरराज्य पक्ष कै रजगज छ । त्यसको पछिल्लो उदाहरण हो, स्टारफोर्स सेक्युरिटी कम्पनी । सुरुमा विमानस्थल भन्सार कार्यालयको गेटमा पाले बस्न टीआईए छिरेको स्टारफोर्स अहिले संवेदनशील क्षेत्रमा खाइखेलिरहेको छ । बेरोकटोक खटिँदै आएको खुलेको छ । एक जहाज कम्पनीका उच्च अधिकारीले दिएको जानकारी अनुसार विमानस्थलभित्र निजि सुरक्षागार्डहरु जहाजको ढोकादेखि अध्यागमनसम्म भन्सार विभागको पास लगाएर निर्वाध घुमिरहेका हुन्छन् । स्टारफोर्स सेक्युरिटी कम्पनीका ९ जना सुरक्षागार्ड २४ घण्टा विमानस्थलका चोक चोक कुना कुनामा पुगेर काम गर्दै आएको त्रिभुवन विमानस्थल कार्यालय उच्च स्रोतले पुष्टि गरेको छ । अर्को एक स्रोतले भन्यो, ‘सिसी क्यामेरमा कहाँ कहाँ पुग्छन् र के के गर्दछन्, स्वतः पुष्टि हुन्छ ।’

विभानस्थलको अराइभल अर्थात् आगमनमा स्टार फोर्स सेक्युरिटी कम्पनीका सुरक्षागार्ड खटिएका छन् । ति सेक्युरिटी सोझै हवाइजहाज उडान, अवतरण तथा कार्गो ओराल्ने देखि व्यागेज, लगेज स्क्यानर एवं गेटपास सर्वत्र पहुँच राख्छन् । विदेशबाट आउने यात्रु एवं कार्गोको सुरक्षा, चेकजाँच तथा स्क्यान तिनै स्टार फोर्सका सेक्युरिटीले नै गर्ने गरेको नाम उल्लेख नगर्ने शर्तमा भन्सार कार्यालयकै एक कर्मचारीले बीमापोष्टलाई बताए ।

‘स्क्यानर मेसिनमा जम्मा भन्सार कार्यालयका १ जना जाँचकी डिउटी गर्छन् । भन्सारका ति कर्मचारी कुनै बेला झ्याप्प निदाइ पनि हाल्छन् । स्क्यानर मेसिन भने आफ्नै रफ्तारमा चलिरहन्छन् । व्यागेज, लगेज, कार्गो स्टार फोर्सका सेक्युरिटीले हेरफेर गर्छन् र सम्बन्धित स्टोर वा क्याविनतिर धकेल्दिन्छन् । प्रहरीले झोला वा व्यागेज, लगेज छुन मिल्दैन ।’ विमानस्थलभित्रैका प्रहरीको गुनासो छ ।

विमानस्थल भन्सार कार्यालयका एक जना अधिकारी भन्छन्, ‘व्यागेज, लगेजहरु उचाल्ने, ओसार्ने गर्नु पर्ने हुन्छ । यस्तोमा सुरक्षाकर्मीलाई काम अह्राउनु भएन । सेक्युरिटी गार्ड भए, काम लगाउन सजिलो हुन्छ भनेर यसो गरिएको हुनुपर्छ ।’ भन्सार कार्यालयले जे वहाना गरे पनि स्टारफोर्सको विमानस्थल प्रवेश गलत रहेको र राष्ट्रिय सुरक्षामा खतरा रहेको विमानस्थलमै रहेको नेपाली सेनाका एक उच्च अधिकारीले बताए ।

सुरक्षा मामिलाका जानकार धरणिधर खतिवडा भन्छन्, ‘यो गम्भीर कुरा हो । अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो खालको सुरक्षा सतर्कता मुलुकलाई खतरायुक्त हुन्छ । सुरक्षा सतर्कताका हिसाबले विदेशबाट आउने हरेक व्यक्ति र उसले ल्याउने सरसामानको स्मार्ट जाँच हुनुपर्छ । त्यस्तो खाले प्रविधि र जनशक्ति चाहिए राज्यले व्यवस्था गर्नु पर्छ । तर, अराइभलमा यस्तो गतिछाडा प्रवृत्ति हुनुहुँदैन ।’ निजी सेक्युरिटी गार्ड राखेर स्क्यानिङ गर्ने र कार्गो गेटपास गर्ने कुरा झन् गम्भीर हो ।

खतिवडाले अगाडि भने, ‘कसैलाई झोला उचाल्दिन सजिलो पार्ने भन्दा पनि मुलुकको राष्ट्रिय सुरक्षा ठूलो कुरा हो । सुन प्रकरण र अन्य विविध तस्करीका घटनाक्रमले विमानस्थल त्यसै वदनामित छ । यो अवस्था हेर्दा त कसैले हातहतियार ल्याए पनि थाहा नहुने भो । यसको परिणाम भोलि के हुन्छ ?’

भन्सार कार्यालय प्रमुखले नै बोले झुठ
त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरका हाकिम हुन्, डा. टोकराज पाण्डे । उनी र उनका प्रवक्ताले बीमापोष्टसँग ठाडै झुठ बोले । पाण्डे र प्रवक्ता अम्विका प्रसाद खनालले स्टार फोर्स सेक्युरिटीलाई सार्वजनिक खरिद ऐन अन्तर्गत टेण्डर गरेर राखिएको भनेका थिए । तर, कुरा अर्कै रहेछ । स्टार फोर्सका एक जना सञ्चालक कुमार शिवाकोटीको कुराबाट विमानस्थल भन्सारले कि कुरो लुकायो कि झुठ बोल्यो भन्ने प्रष्ट हुन्छ । शिवाकोटीले सुरुमा दुई वर्ष अघि आफुहरुले विमानस्थल भन्सार कार्यालयमा सूचीकरणमार्फत जम्मा २ जना सेक्युरिटी गार्ड घुसाएको बताए ।

राम्रो काम गर्नेले सम्झौता नविकरण गर्द थपघट गर्न पाउने भनिएका कारण आफुहरुले एक वर्षअघि मात्रै विमानस्थलभित्र ९ जना सेक्युरिटीगार्ड थपेको शिवाकोटीले जानकारी दिए । उनले भने, ‘१० लाख भन्दा मुनिको खर्चमा टेण्डरमा जानु पर्दैन । सूचीकरण गरे पुग्छ । हामी पनि सूचीकरण मै छिरेका हौँ । पछि थपिएको हो । अहिले विमानस्थल भित्र ९ जना, भन्सार कार्यालयमा २ जना गरेर ११ जना सेक्युरिटी गार्ड र १ जना क्लिनर गरेर १२ जना हाम्रा मान्छेहरु त्यहाँ छन् ।’ आउँदो वर्ष भने अब टेण्डरमा जानुपर्ने अवस्था आउने उनले बताए ।

भन्सार विभागले भने यसरी विमानस्थल वा कतै पनि आवश्यक जनशक्ति राख्न विभागबाट अनुमति लिनुपर्ने बताएको छ । यसरी सुरुमा भन्सार कार्यालयको गेटमा पाले बस्ने अनुमति पाएको स्टार फोर्स अहिले विमानस्थलभित्रै ‘तारा’बनेर चम्किरहेको छ ।

यो पनि नछुटाउनहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भद्रगोल, राष्ट्रिय सुरक्षामा खतराको घण्टी !

4 thoughts on “‘भद्रगोल विमानस्थल श्रृंखला २’ : गैरकानूनी रुपमा त्रिभुवन विमानस्थलभित्र स्टार फोर्सका सेक्युरिटी गार्ड

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*