मर्जरले सिर्जना गरेको अध्यारो पक्षः नारायण पौडेल
गाभ्ने वा गाभिने वा प्राप्ति प्रकृयामा दुई वा सो भन्दा बढी संस्थाहरुको सम्पत्ति तथा दायित्व मिलाई एउटा संस्था सिर्जना गरी गाभ्नु वा गाभिनु पूर्वका कम्पनीहरुमध्येको कुनै एउटा कम्पनीमा बाँकी कम्पनीहरु विलय हुने वा सबै कम्पनीहरुको कानूनी हैसियत र अस्तित्व समाप्त गरी एउटा नयाँ संस्थाको जन्म हुने गरी दुईवटा विकल्पहरु हुन्छन् ।
पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरु र खासगरी ठूला वाणिज्य बैकहरु एकआपसमा गाभ्ने वा गाभिने वा प्राप्ति प्रकृयामा जाने गरेका छन् र यो लहड अहिले बीमा कम्पनीहरुमा पनि चलेको छ । नियामक निकायहरुले नै यसलाई प्रोत्साहित गर्ने र आवश्यक परे दवाव समेत दिने गरेका पनि छन् ।
संख्यात्मक उपस्थितिलाई बढी व्यवस्थित र गुणस्तरीय बनाउनका लागि पनि गाभ्ने वा गाभिने वा प्राप्ति सम्बन्धी प्रकृया एउटा रणनैतिक व्यवसायिक औजार सावित हुन सक्दछ । गाभ्ने, गाभिने र प्राप्तिको प्रकृयाबाट लागत प्रभावी हुने, मितव्यिताको लाभबाट दक्षता अभिवृद्धि हुने, आम्दानी बढ्ने तथा सामूहिक अस्तित्व तथा फराकिलो सञ्जाल अर्थात् भौगोलिक कार्यक्षेत्रले गर्दा ग्राहकको दायरा विस्तारित हुन गई संस्थाको मूल्य अभिवृद्धिमा सघाउ पुग्दछ भनिन्छ ।
उपलब्ध व्यवस्थापकीय दक्षताबाट महत्तम लाभ लिन सकिनुका साथै पूँजीको आधार बलियो भई व्यवसायिक बजार हिस्सामा समेत बढोत्तरी आउंदछ । दुई वा सो भन्दा बढी संस्थाहरु मिलाएर प्राप्त हुने जुन उर्जा वा दक्षता हो, त्यो एकल अस्तित्वको तुलनामा बढी नै हुन्छ भन्ने गरिन्छ । यो प्रकृया केही पाउने र केही गुमाउने सम्झौताको रुपमा पनि रहने हुँदा सम्बद्ध सबै सरोकारवालाहरुको स्वार्थ वा चासोले निर्णयलाई प्रभावित पारेको वा पार्न खोजेको पनि हुन्छ । संस्थाहरु एकआपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने जस्ता कार्यहरुलाई संगठनात्मक पुनर्संरचनाको लागि आवश्यक र उपयुक्त विकल्पको रुपमा लिइनु पर्दछ ।
तर, यसका आफ्नै समस्या तथा चुनौतीहरु पनि छन् । यसमा सहभागी संस्थाहरुबीच केही प्रमुख विषयहरुका सम्बन्धमा पूर्व सहमति र समझदारीको आवश्यकता पर्दछ । गाभिनु पुर्वको अवस्थामा शेयरको मूल्याङ्कन के–कसरी गर्ने र विद्यमान शेयरधनीहरुलाई कुन प्रकृयाबाट समायोजन गर्ने भन्ने नै संबोधन गरिनुपर्ने प्रमुख विषय हुन आउँदछ भने गाभिएपछि पनि कार्यकारी प्रमुखको रुपमा काम गर्ने व्यक्तिको चयन, संचालक समितिको पुनर्गठन, कर्मचारीको संख्या, तह र सेवा मिलान, विद्यमान संस्थागत संजालको व्यवस्थापन तथा संगठनात्मक संस्कृतिको मिलान आदि विषयहरु निरुपण हुनुपर्ने हुन्छ ।
अहिले मर्जरमा गएका कतिपय संस्थाहरुमा थुप्रै समस्याहरु देखा परेका पनि छन् । प्रमुख कार्यकारी अधिकृतले आँफू पहिले कार्यरत रहेको संस्थाका कर्मचारीहरुलाई मात्र च्याप्ने, काखा र पाखाको नीति अँगाल्ने अर्थात् भेदभाव गर्ने, आफ्नो अनुकूल नभएको कर्मचारीलाई अपायक स्थानमा सरुवा गर्ने र भूमिकाविहिन बनाई राजिनामा दिन वाध्य पार्ने गरिएको पनि देखिएको छ ।
यस किसिमको प्रवृत्तिले मर्जर हुनु भन्दा नभएकै वेश हुन्थ्यो भन्ने खालको असन्तुष्टी र तिक्तता पनि कर्मचारीवृत्तमा सिर्जना गरेको पनि पाइयो । त्यसर्थ, यो पक्षलाई सरोकारवालाले यथोचित सँबोधन गर्न सकेमा मात्र मर्जरको वास्तविक लाभ लिन सकिने अवस्था रहन्छ ।
प्रभु लाइफका पूर्व सीईओ नारायण पौडेलको फेसबुकबाट साभार