शेयर बजार ध्वस्त पार्ने ‘भष्मासुर’ गभर्नर अधिकारी

नेप्सेमा इजरायल आक्रमणको पनि आंशिक प्रभाव
२३ आश्विन २०८०, मंगलवार १४:००

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार इन्डेक्स १८ सय तिर नुगेपछि लगानीकर्ताको सिरिंगो तातियो । लगानीकर्ताले राष्ट्र बैंकतिर ‘धारे हात’ लगाउँदै भने, ‘पूँजी बजारलाई तहस नहस पार्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भष्मासुर नै हुन् ।’

शेयर लगानीकर्ता तुलसीराम ढकालको नजरमा पुँजी बजारको कन्फिडेन्स खोस्ने एक मात्र खलपात्र हुन्, गभर्नर महाप्रसाद अधिकारी । उनले पूँजी बजारलाई कस्न ल्याएको पोलिसी नसच्याएसम्म लगानीकर्ताले राहत नपाउने ढकालको भनाइ छ ।

उनले अगाडि भने, ‘यसरी कडिकडाउ गर्न नेपाली पूँजी बजारमा लगानीकर्ता नै कति छन् र ? एक डेढ सय लगानीकर्तालाई कस्न मार्जिन प्रकृतिको शेयर धितो कर्जामा क्याप किन राख्नु पर्ने ?’

अर्थतन्त्रको पोलिसीलाई ध्यान दिनु पर्ने ठाउँमा पूँजी बजारका लगानीकर्ताको पुच्छर निमोठेर हुन्छ ? उनले प्रश्न गर्दै भने, ‘राज्यलाई पूँजी बजार चाहिन्छ कि चाँहिदैन ? ट्याक्स चाहिन्छ कि चाहिँदैन ? गभर्नर लगानीकर्ता लखट्ने अनि सरकार चाहिँ पूँजीबजारप्रति मुकदर्शक भएर हेर्ने ? यसरी कसको भलाई हुन्छ ?’

गभर्नर अधिकारीले गएको बिहीबार जारी गरेको संशोधित निर्देशनले तात्विक रुपमा आफुहरुलाई कुनै फरक नपार्ने बताउँदै लगानीकर्ता ढकालले बीमापोष्टलाई भने, ‘दशैंमा टिका लगाएर दक्षिणा बाँडेको जस्तो के गरेको ? वास्तवमा भन्ने हो भने हामीलाई दशैं मान्न गभर्नरको दक्षिणा चाँहिदैन ।’

यो राज्य गभर्नरको मात्रै नभएको बताउँदै उनले अर्थमन्त्री, पूर्व अर्थमन्त्री तथा पूर्वप्रधानमन्त्री एवं विज्ञहरु एक स्वर भइसक्दा गभर्नरले आफ्नो ढिपी नछोड्नु रहस्यपूर्ण रहेको आशंका गरे । यसले उनी स्वचालित एवं स्वायत्त संस्थाको गभर्नर भएर पनि परिचालित छन् भन्ने संकेत गर्छ । नभए लगानीकर्ता घरबारविहिन भई आत्महत्या गर्ने अवस्थामा आइपुग्दा उनी पोलिसी सच्याउन किन तयार हुँदैनन् ? ढकालले प्रश्न गरे ।

उनका अनुसार यसअघि पूँजी बजारप्रति अनुदार हुने राज्य सञ्चालक तथा गभर्नर नआएका होइनन्, तर अधिकारी जस्तो नीतिगत हिसाबले कस्ने काम भएको थिएन । पूँजी बजारमा लगानी गर्न ऋण नै चाहिने तत्वज्ञान हुँदा हुँदै पनि गभर्नरले मार्जिन प्रकृतिको शेयर धितो कर्जामा सीमा राख्नु पर्ने कारण नै नभएको लगानीकर्ताहरुको तर्क छ । बैंक आफैं व्यवसायी भएका कारण त्यसमा सीमा तोक्नु पर्दैन ।

नचाहिने काममा ध्यान
राष्ट्र बैंकको सञ्चालक समिति नै इरिटेड हुने गरी गभर्नर अधिकारी स्वेच्छाचारी र निर्मम ढंगले अघि बढेका छन् । उनको ध्यान चाहिने भन्दा नचाहिने काममा बढी छ । आफ्नै सञ्चालक समितिको निर्णयहरु नमान्ने उनी असनको साँढे जस्ता छन् । शेयर धितो कर्जाको सीमा बढाए भन्छन् । बैंकको व्याजदर घटाउँदैनन् । बैंकको व्याजदर नघटेसम्म कुनै लगानीकर्ताले ऋण लिने हिम्मत गर्ने छैनन् ।

नेप्सेका पूर्व महाप्रबन्धक चन्द्र सिं साउद भन्छन्, ‘एक डेढ सय जना लगानीकर्तालाई १५ र २० को क्याप राख्न जरुरी छैन । जसरी राष्ट्र बैंकले क्रस होल्डिङको व्यवधान खडा गर्ने र माइक्रो फाइनान्सलाई शेयर बेच्नुपर्ने कुरा राख्यो त्यसपछि लगानीकर्ताको मनोवल घट्यो । गर्नु पर्ने कुरा गरिएन । जस्तो, फाइनान्सियल डेरिभेटिभ्स पोलिसी कार्यान्वयनमा आएन, भेण्डर क्यापिटललाई मल्टिपल मार्केट दिनुपर्नेमा त्यसो गरिएन ।’

शेयरबजारलाई युक्रेन तनावले पनि प्रभाव पारेको र अहिलेको इजरायल द्वन्दले पनि अलिकति त्रासदी सिर्जना गरेको पनि साउदले बताए । शेयर बजारमा अपेक्षित सुधार नहुनुको कारण पूँजीगत खर्च पनि कारक रहेको उनको भनाइ छ । उनले भने, ‘पैसाको व्याजले चलेको मार्केटलाई निचोर्ने भन्दा पनि सरकारले पूँजीगत खर्चमा जोड बल गरे उत्तम हुन्छ भने राष्ट्र बैंकले विभिन्न प्रोभिजन राखेर शेयर होल्डरको रिटर्न रोक्ने रणनीति लिनु हुँदैन ।’

आफैंले गरेको बाचा पूरा गरेनन् गभर्नरले
नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले राष्ट्र बैंकका गभर्नर अधिकारीले आफुहरुसँग गरेको बाचा पूरा नगरेको बताए । गभर्नर अधिकारीले लगानीकर्ताहरुले राखेको मूल माग नै पूरा गरेनन् । लगानीकर्ताले ब्रोकरको कमिसन घटाउन र शेयर धितो कर्ताको क्याप पूर्ण रुपमा हटाउन भनेका थिए ।

रौनियार भन्छन्, ‘गभर्नरलाई हामीले शेयर धितो कर्जाको व्यक्तिगततर्फ २० करोड राखेर संस्थागतको ५० वा पूर्णरुपमा हटाइदिन भनेका थियौँ । त्यसमा उहाँ सहमत हुनुहुन्थ्यो । तर, पछि संशोधन गर्दा १२ बाट बढाएर १५ र २० बनाइदिनु भयो । यसले कुनै पनि प्रकारको फरक पार्दैन ।’

अर्थमन्त्रीलाई समेत आफुहरुले क्यापिटल गेन ट्रेडर्सतर्फ ३ प्रतिशत र मिडियममा ५ प्रतिशत राख्न भनी आग्रह गरेको रौनियारले बीमापोष्टलाई बताए । बैंकमा पैसा थुप्रिएर बसेको छ, उनी अगाडि भन्छन्, ‘सीडी रेसियो ८२ भन्दा तल आइसक्यो । तर, व्याजको रेट घट्दैन, अनि कसले लिन्छ ऋण ? कसरी गर्छ मान्छेले लगानी ?’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*