एनसेलको आर्थिक अवस्था गम्भिर अवस्थामा, लेखापरिक्षणमा देखियो २६ अर्ब भुक्तानी बक्यौता र २० अर्ब ऋण

२३ आश्विन २०८०, मंगलवार १०:०२

काठमाडौं । निजि क्षेत्रको दुर सञ्चार सेवा प्रदायक एनसेल एक्जियटा ठूलो दायित्वको कारण डुब्ने अवस्थामा पुगेको छ । कम्पनीको कूल दायित्व ५० अर्ब पुगेको छ भने ३० अर्ब रुपैयाँ भुक्तानी बक्यौता देखिएको छ । कम्पनीको दायित्व लगातार बृद्धि हुँदै जाँदा डुब्ने अवस्थामा पुगेको हो । ‘गत वर्ष स्मार्टसेल २७ अर्बको दायित्व बक्यौता राखेर भागे झै एनसेल पनि समयावधी सकिनै लाग्दा बक्यौता लगातार बृद्धि भइरहेको एनसेल एक्जियटा लिको लेखापरिक्षण प्रतिवेदनले औल्याएको छ’ हिजो प्रकाशित आर्थिक दैनिकको समाचारमा उल्लेख छ ।

एनसेलको २०७९ असार मसान्तसम्मको कूल दायित्व ४६ अर्ब ८४ करोड ८१ लाख ९१ हजार ८५८ रुपैयाँ पुगेको छ । आव २०७७।०७८ अन्त्यसम्ममा एनसेलको कूल दायित्व ४६ अर्ब ४९ करोड ७२ लाख ९८ हजार ४०० रुपैयाँ रहेको थियो । पछिल्लो एक वर्षमा कम्पनीको बक्यौता दायित्व ३५ करोड आठ लाख ९३ हजार ४५८ रुपैयाँले बृद्धि भएको छ । गत आवमा कम्पनीले धेरै नयाँ उपकरणहरु किनेको र बैंकबाट ऋण समेत थप गरेकोले कूल दायित्व बढेर ५० अर्ब नाघेको स्रोतको दावी छ ।

बीमापोष्टलाई प्राप्त एनसेलको लेखा परिक्षण प्रतिवेदनमा २०७९ असार मसान्तसम्ममा एनसेल एक्जियटाले नेपाली बैंकहरुबाट मात्रै २० अर्ब ६७ करोड ५६ लाख ३७ हजार ८३१ रुपैयाँ ऋण तिर्न बाँकी देखिएको छ । सो मध्ये तीन अर्ब १० करोड कन्सोर्टियम टर्म लोन छ भने दुई अर्ब ५० करोड कन्सोर्टियम वर्किङ क्यापिटलको नाममा नेपाली बैंकबाट ऋण लिएको पाइएको छ । त्यस्तै, नन करेन्ट कन्सोर्टियम टर्म लोन १५ अर्ब २२ करोड ५० लाख रुपैयाँको लिएको देखिएको छ । सो ऋण बापत मात्रै एनसेलले दुई अर्ब ७८ करोड रुपैयाँ ब्याज तिरेको वित्तीय विवरणमा देखिएको छ ।

आव २०७९ को अन्त्यसम्ममा कम्पनीको अन्य दायित्व २६ अर्ब नाघेको देखिएको छ । हालसम्म सो दायित्व ३० अर्ब नाघिसकेको जनाइएको छ । दायित्व बढ्दै जाँदा एनसेलको तरलता समस्या समेत पर्ने देखिएको छ । लेखा परिक्षण प्रतिवेदन अनुसार व्यापारिक भुक्तानी बक्यौता १४ अर्ब ५१ करोड, अन्य भुक्तानी बक्यौता तीन अर्ब ६५ करोड, लाभांश भुक्तानी बक्यौता तीन अर्ब १३ करोड, जिएसएम लाइसेन्स शुल्क भुक्तानी बक्यौता ८२ लाख ७६ हजार २५० रुपैयाँ, सिमकार्ड प्रयोगकर्ताबाट अग्रिम रुपमा बुझिलिएको रकम दुई अर्ब ३० करोड ४० लाख रुपैयाँ दायित्व रहेको छ ।

त्यस्तै, कम्पनीले कर्मचारीलाई दिनुपर्ने बाँकी तलव, निवृत्तिभरण भुक्तानी बक्यौता, बोनस भुक्तानी बक्यौता, कर, स्थानीय सरकारलाई तिर्नुपर्ने कर, सामाजिक उत्तर दायित्व र विविध भुक्तानी बक्यौतासहित कूल व्यापारिक बक्यौता २६ अर्ब १७ करोड २५ लाख ५४ हजार २७ रुपैयाँ रहेको देखिएको छ ।

कूल ७० अर्ब ६३ करोड ५७ लाख ८७ हजार २८४ रुपैयाँ सम्पत्ति देखिएको एनसेल एक्जियटामा २७ अर्बको टावर, कम्प्युटर, ल्यापटप तथा अन्य दुर सञ्चार उपकरणहरु रहेको लेखा परिक्षणमा देखाइएको छ । यथार्थमा ७० अर्बको सम्पत्ति छैन । जसमा डिफर ट्याक्स पाँच अर्ब ९२ करोड जोडिएको छ । सो घटाउँदा एनसेलसँग ६४ अर्ब ७० करोड ६४ लाख ६३ हजार ८०२ रुपैयाँको सम्पत्ति रहेको देखिन्छ । सम्पत्तिको विवरणमा ब्राण्ड, लाइसेन्स र अभौतिक सम्पत्तिको रुपमा आठ अर्ब ७० कराड मूल्याङ्कन समावेश छ । सो घटाउँदा एनसेल एक्जियटाको खुद सम्पत्ति ५६ अर्ब ४६ हजार १३ हजार ४६३ हुन आउँछ । सम्पत्ति मध्ये घरजग्गा, दुरसञ्चार उपकरणको कूल मूल्याङ्कन २७ अर्ब ६२ करोड गरिएको छ । तर, सो सम्पत्तिको सूचिमा रहेका मध्ये कम्प्युटर, ल्यापटप र दुरसञ्चार सम्बन्धी टावरसहितका उपकरणहरु धेरै पुराना भइसकेका छन् । धेरै पुराना भइसकेकोले काम अब धेरै वर्ष काम लाग्नेछैन । घरजग्गा बाहेकको २७ अर्बको सम्पत्ति स्मार्ट सेलको महिनादिनमा कवाडीमा गए जस्तै हुनेछ ।

गतवर्षदेखि एनसेलको गुणस्तर लगातार खस्किँदै गएपछि एकै पटक ४५८ वटा नयाँ टावरहरु जडान गरेको थियो । अबका दिनहरुमा एनसेलले वर्षेनी सयौं टावर र दुरसञ्चार उपकरणहरु पुनस्र्थापित गर्दा अर्बौ रुपैयाँको लगानी थप्नुपर्ने अवस्थामा पुगिसकेको छ । एकातिर तरलता अभाव र अर्कोतिर अर्बौ रुपैयाँको पुँजि लगानी गर्नुपर्ने अवस्थामा पुगेकोले एनसेल कुनै पनि टाट उल्टिन सक्ने देखिएको छ ।

One thought on “एनसेलको आर्थिक अवस्था गम्भिर अवस्थामा, लेखापरिक्षणमा देखियो २६ अर्ब भुक्तानी बक्यौता र २० अर्ब ऋण

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*