चिरख्वा हाइड्रोपावरको आइपीओ बिक्री खुल्ला, स्थानीयले नकिनेको शेयर पनि सर्वसाधारणलाई बेच्दै
चिरख्वा हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।कम्पनीले आयोजना प्रभावितले नकिनेको सेयर समेत थपेर सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ
कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १२ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो । कुल कित्तामध्ये आयोजना प्रभावित स्थानीयमा २ लाख ४ हजार ७०० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीमा ८० हजार कित्ता, सामूहिक लगानीकोषका लागि ४० हजार र कर्मचारीहरूमा १६ हजार कित्ता आईपीओ बाँडफाँट गरिएको हो ।
स्थानीयका लागि छुट्याइएको ४ लाख कित्ता शेयरमध्ये विक्री हुन नसकेको १ लाख ९५ हजार ३०० कित्ता आईपीओसमेत गरेर ८ लाख ५९ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न लागिएको हो ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । प्रतिशेयर सय रुपैयाँ मूल्यमै कम्पनीले आईपीओ विक्री गर्न लागेको हो ।
यो आईपीओ छिटोमा असोज २६ गतेसम्म विक्रीमा रहनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि कात्तिक ३ गतेसम्म विक्री लम्बिनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ विक्रीमा आउँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले यस कम्पनीको आईपीओसमेत छिटो अवधि असोज २६ गतेसम्म मात्र विक्रीमा रहने निश्चितजस्तै छ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई ईक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । कम्पनीले पाएको रेटिङ्गलाई ध्यानमा राखेर पनि लगानीको धारणा बनाउन सकिनेछ ।